‘एमाले नेतृत्वको सरकारले गरेका काम नै हाम्रो जितको आधार हो’
एमालेको इतिहास, सांगठानिक संरचना नै जित्ने पहिलो आधार हो। यस्तै‚ एमाले नेतृत्वको तीनै तहका सरकारले गरेका काम र उम्मेदवारको योग्यता‚ क्षमता नै हामीले जित्ने आधार हुन्।
कास्कीको पोखरा महानगरपालिकाको नेकपा (एमाले)बाट मेयर पदका उम्मेदवार हुन् कृष्ण थापा। उनी गण्डकी प्रदेश सभाको सदस्यबाट राजीनामा दिएर मेयर पदका उम्मेदवार बनेका हुन्। उनै थापासँग मेयर पद रोज्नुको कारण‚ पोखराको विकासका योजना आदिबारे हिमालखबरका लागि सञ्जय रानाभाटले गरेको कुराकानी:
२५ वर्षपछि किन मेयर नै रोज्नुभयो?
म आफैं आएको होइन‚ पार्टीको निर्णयलाई सिरोपर गरेरको मात्र हुँ। अर्को कुरा मसँग अनुभव र भिजन भएकाले यसले पोखरा बनाउन सक्छ भन्ने पार्टीलाई लागेकाले मलाई अगाडि बढाएको हो। छ। मैले यसअघि उपमहानगर हाँकिसकेको छु।
पोखरा नगरपालिका हुँदा २०४९ सालमा पनि म मेयरको उम्मेद्वार थिएँ। २०५४ सालमा पोखरा उपमहानगरपालिका भयो। त्यतिवेला मेयर भई जनताको सेवा गरें। २५ वर्षपछि फेरि पार्टीले देशकै ठूलो महानगरपालिकाको उम्मेदवार बनाएको छ। मैले आफूलाई सौभाग्यशाली महसुस गरेको छु। महानगरमा मेयर जितेर फेरि जनताको सेवामा खटिनेछु।
मुख्य प्रतिस्पर्धा तपाईंकै पूर्व सहकर्मी हुनुहुन्छ। कसरी हेर्नुभएको छ?
उहाँ अदालतको परमादेशबाट गठन भएको सरकारमा रहेका दलहरूको गठबन्धनबाट आउनुभएको छ। म परमादेशलाई हटाएर जनाधारलाई स्थापित गर्ने दलबाट छु। यसो भएको हुँदा हामी फरक छौं। अर्थात् परमादेश र जनादेशको पक्षामा छौं।
तपाईंले जित्ने आधार के के छन्?
एमालेको इतिहास, सांगठानिक संरचना नै जित्ने पहिलो आधार हो। दोस्रो आधार केपी शर्मा ओलीको नेतृत्वमा भएका विकास निर्माणका काम‚ जसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा छ। तेस्रो आधार गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र महानगरमा मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वले गरेको विकास हो।
एमाले जस्तोसुकै परिस्थितिमा पनि खटिएर काम सक्न सक्छ भन्ने जनताले बुझेका छन्। कोभिड १९ को महामारीका बेलामा हाम्रो तीनै तहको सरकारले गरेका काम जनताले मूल्याङ्कन गरेका छन्। त्यो पनि हाम्रो जितको आधार हो। अर्को भनेको उम्मेदवार पनि हो। हामीसँग सक्षम‚ निष्कलङ्क‚ बौद्धिक र स्वाभिमानी उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ हुनुहुन्छ। म पनि ४० वर्षदेखि पोखरेली जनताको सेवामा छु।
चुनावी अभियानमा हुनुहुन्छ‚ कस्ता योजना लानुभएको छ?
घरदैलो गर्ने समय कम भएकाले सकेसम्म मतदाताको घरआगनमै पुग्ने‚ नसके टोलटोलमा कोणसभा गरेर योजना सुनाइरहेका छौं। यही वेला जनताको माग र आवश्यकतालाई पनि बुझ्ने काम भइरहेको छ।
हाम्रो लक्ष्य भनेको पोखरालाई समृद्ध, सभ्य र सुसंस्कृत महानगर बनाउने हो। देशकै सुविधा सम्पन्न महानगर‚ जहाँ जनता आर्थिक रुपमा सवल हुनेछन्। जसका लागि तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाउने हो। तत्कालीनमा पाँच वर्षभित्र गर्न सक्ने र १५ देखि २० वर्षमा सक्ने कामको विभाजन गरेका छौं। दीर्घकालीनमा ४० देखि ५० वर्षका योजना छन्। मुख्य पोखराको समस्या समाधान र पोखरेलीको जीवनस्थर उकास्ने योजना छन्। शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि पहिलो प्राथमिकतामा छन्। विकासका लागि आयस्रोत आवश्यक पर्ने भएकाले राजस्व बढाउनेतिर हाम्रो ध्यान छ। यसका लागि करको दायरामा बढाउनुपर्ने देखिन्छ।
अर्को पोखरालाई सुन्दर नगर बनाउन यहाँको प्राकृतिक र भौगोलिक अवस्थालाई हेरेर विकास निर्माणका काम अगाडि बढाउने छौं। पोखरामा तीन वटा बसपार्क बनाउँछौं। पृथ्वीचोकमा सिटी बसपार्क‚ वडा नम्बर ३२ को लामेआलमा राष्ट्रिय स्तरको बसपार्क र बागलुङ बसपार्कलाई व्यवस्थित बनाउँछौं।
ठूल-ठूला योजना समेट्नुभएको रहेछ‚ कसरी कार्यान्वयनमा ल्याउनु हुन्छ?
पाँच वर्ष सबै कुरा हुने होइन। पाँच वर्षमा सक्दो गर्छौं। आधार निर्माण गर्छौं। अल्पकालीन र दीर्घकालीन योजना छन्। दीर्घकालीन योजना पूरा हुन्छन्‚ किनकि ती कुनै काल्पनिक होइनन्।
यदि मेयर भए शुरूआतमै पहिलो चार काम के गर्नुहुन्छ?
जनताले महसुस गर्ने गरी महानगरको कामकारबाही चुस्तदुरुस्त बनाउँछौं। जनमैत्री काम गर्छौं। महानगरभित्र भएका ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्छौं। अर्को कुरा शिक्षा र स्वास्थ्यलाई सहज बनाएर जनताको पहुँच बढाउँछौं। अव्यवस्थित पार्किङ शुल्कलाई व्यवस्थित बनाउँछौं। महानगरको नेतृत्व सम्हालेका तीनदेखि पाँच महिनाभित्र अल्पकालीन र दीर्घकालीन खालको योजना बनाएर तत्काल कार्यान्वनको चरणमा जान्छौं।