३ जेठमा बजेट अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जेठमा संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।’
आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार, १५ जेठमा बजे ल्याउनुपर्छ। त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। गत वर्ष भने सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।