चितवनमा ओलीको प्रश्न- कांग्रेस कार्यकर्ताले कता पीर बिसाउने हुन्?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण चितवनमा नेपाली कांग्रेसका कार्यकर्ताले पीर बिसाउने ठाउँ समेत नपाएको बताएका छन्।
एमाले चितवनले शनिबार नारायणगढमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसका कार्यकर्ताको भावना विपरीत गठबन्धन भएको जिकिर गरे। ओलीले प्रश्न गरे, “पीर बिसाउने ठाउँ नै पाइनँ भन्ने गीतमा जस्तै कांग्रेसका कार्यकर्ताले कता पीर बिसाउने हुन्?”
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउनतिर लागेको ओलीको आरोप थियो। देउवाले कांग्रेस कार्यकर्ताको भावना बुझ्न नसकेको जिकिर गरे। “कांग्रेसका कार्यकर्तालाई गठबन्धन मन परेको छैन, मन रोएको भए देश बनाउने अभियानमा एमालेलाई साथ दिनुहोस्,” ओलीले भने।
उनले कांग्रेस कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको धम्कीले नडराउने आग्रह गरे। “चितवनका जनताले मेरा छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने देश दुर्घटनामा जान्छ। थपक्क भोट हालेर मेरी छोरीलाई जिताउनु भयो भने म खुशी हुन्छु, गठबन्धन २० वर्षसम्म टिक्छ भनेछन्,”’ माओवादी अध्यक्ष दाहाललाई इंगित गर्दै ओलीले भने, “जनतालाई धम्क्याउने बानी गएको रहेनछ। बानी भए पनि जमाना बदलियो, धम्काएर केही हुँदैन।”
उनले धम्काउने, तर्साउनेलाई भोट नदिई विकास गर्नेलाई भोट दिन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। आफ्नो भाषणको धेरै समय कांग्रेस कार्यकर्ता फकाउनमै खर्चिएका ओलीले भने, “कार्यकर्ताले भयरहीत वातावरणमा भोट दिन पाउनुपर्छ। जनतालाई धम्क्याउन पाईन्छ?”
सरकारमा जाँदा एमालेले सिर्जनात्मक काम गरेको, नाकाबन्दीको सामना गरेको, तुईन विस्थापित गरेको, रामको जन्मभूमि चितवन भएको लगायतका चर्चा गरे।
उनले अर्थतन्त्र ओरालो लाग्नुमा पनि गठबन्धन सरकारलाई नै दोष दिए। “एमाले सरकारमा रहँदा अर्थतन्त्र ओरालो लागेको थिएन, अहिले नयाँ आयोजनामा लगानी गर्न सरकारसँग पैसा छैन,” ओलीले भने, “गठबन्धनको सरकार जनताले बनाएको होइन। परमादेशको यस्तो सरकारलाई टाटा बाईबाई गर्नुपर्छ।”
कांग्रेसले बहुदलीय व्यवस्थापछिको ३० वर्षमा केही काम गर्न नसकेको आरोप लगाए। अबको चुनावबाट एमालेको सरकार आउने दाबी गर्दै स्थानीय चुनावमा पनि एमालेलाई मत दिन आग्रह गरे।
भरतपुरमा एमालेको तर्फबाट विजयी सुवेदी मेयरका उम्मेदवार बनेका छन्। सत्तारुढ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छन्।