दाहालले दोहोर्याए- गठबन्धनले हारे देश दुर्घटनातिर जान्छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारले हारे देश राजनीतिक दुर्घटनातिर जाने दोहोर्याएका छन्।
उनले २२ वैशाखमा भरतपुरमा आयोजित आमसभामा हँसिया-हथौडामा मत नदिए देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका थिए। त्यसको चर्को विरोध भएको थियो।
आज पोखरामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यसलाई दोहोर्याएका हुन्। “नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपील गर्दा कतिपय मान्छेले जनता धम्क्यो, हामीलाई नजिताए देश दुर्घटना हुन्छ भनेर गलत अर्थ लगाए,” दाहालले भने, “म फेरि पनि गम्भीर रूपले भन्न चाहन्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मेको हो। यदि यो गठबन्धन दायाँ-बायाँ भयो भने फेरि देश राजनीतिक दुर्घटनातिर जान्छ।”
स्थानीय चुनावमा गठबन्धन परास्त भए प्रतिगमनकारीले देशलाई दुर्घटनातिर लैजाने उनको भनाइ थियो। “जब यो गठबन्धन बन्यो, जन्मेको दिनदेखि नै यसलाई तोड्न लागिपरेका छन्,” दाहालले भने, “राष्ट्रियता र गणतन्त्रको रक्षा गर्न पनि गठबन्धन आवश्यक छ।”
उनले स्थानीय तहमा मात्र नभएर प्रदेश र संघको चुनावसम्म गठबन्धन लगिने बताए। “नयाँ युगको विकास गर्ने गठबन्धनले सङ्कल्प लिएका छ। ६ महानगर र ११ उपमहानगरमा साझा उम्मेदवार छनोट गर्ने सजिलो थिएन,” उनले भने, “देशको समग्र स्थायित्वलाई ध्यान दिएर नै साझा उम्मेदवार छनोट गर्न सफल भएको हो।”
उनले यो चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको जिकिर गरे। “अग्रगमन, शान्ति र परिवर्तनका पक्षधर एकातिर र यो प्रगति उल्ट्याउन चाहने अर्कातिर छन्,” दाहालले भने।
पाँच दलीय गठबन्धनको विरुद्ध अहिले राजवादीको गठबन्धन बनेको उनको भनाइ थियो। “गणतन्त्र विरोधीको गठबन्धन जो आएको छ। यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ,” दाहालले भने।