दम्भ राख्दा केपीको विनाश भयो: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दम्भ राख्दा केपी शर्मा ओलीले शक्ति गुमाउनुपरेको उल्लेख गर्दै दम्भ नराख्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पोखरामा शनिबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको उदाहरण दिंदै कांग्रेस नेताहरूलाई पनि दम्भ नपाल्न सुझाए। “सबैलाई हेक्का होस्, सबैलाई जानकारी होस्। कहिलेकाहीं कम्युनिष्टमा दम्भ हुन्छ। कहिलेकाहीं कांग्रेसलाई लाग्न सक्छ- हामी शक्तिशाली हुन्छौं। दम्भ नराख्नुहोस्, दम्भ राख्दा केपीको विनाश भयो,” अध्यक्ष नेपालले भने, “दम्भ राख्दा तपाईंहरूको पनि विनाश बाहेक अरू केही हुँदैन। सबैको शक्तिलाई स्वीकार्नुपर्छ।”
उनले दक्षिणपन्थी विरुद्ध गठबन्धन गरिएको जिकिर गर्दै मिलेर काम गर्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह गरे। “समाजवादतर्फको यात्रामा अगाडि बढिरहेका छौं। गठबन्धन निर्माण गरेर हामीले बुद्धि पुर्यायौं,” नेपालले राजनीतिमा अप्ठ्यारो पर्दा कांग्रेस र कम्युनिष्ट मिलेको उल्लेख गर्दै भने, “हिजो पनि कांग्रेस र कम्युनिष्ट मिलेर २००७, २०४६ र २०६२–६३ को जनआन्दोलबाट गणतन्त्र ल्यायौं, संविधान बनायौं।”
उनले सबै स्थानीय तह आफूले पाउनुपर्छ भावना नराख्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे। “देशका ६ महानगरमध्ये कांग्रेसले तीन वटा महानगर पाएको छ। बाँकी तीन वटामध्ये एकीकृत समाजवादी, माओवादी र जनता समाजवादीले एक–एक बाँडेका छौं। कांग्रेसले ५० प्रतिशत पाएको छ,” नेपालले भने, “जम्मै मैले पाउनुपर्थ्यो भन्ने भावना नराखौं।”
गठबन्धनबाट पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर र कांग्रेसकी नेत्री कोपिला रानाभाट उपमेयरका उम्मेदवार छन्।
राजनीति गर्नेले दूरदृष्टि राख्नुपर्ने बताउँदै नेपालले पोखरालाई पर्यटकीय नगरीका रूपमा विकसित गरिने बताए। “पोखरालाई पर्यटकीय नगरीमा विकास गुर्नपर्छ। यहाँ रहेका तालतलैयाको संरक्षण हुनुपर्छ,” नेपालले भने, “जनतालाई सुखी बनाउने, यहाँको पर्यावरणलाई कसरी सुन्दर शान्त बनाउने, रोजगारी कसरी प्रवर्द्धन गर्ने कुरामा केन्द्रित हुनुपर्छ।” उनले पोखराको फेवातालको अतिक्रमण रोक्नपर्नेमा जोड दिए।