गठबन्धन भन्दा दायाँ-बायाँ गर्नेलाई कारबाही गर्छौं: प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउनु कांग्रेस कार्यकर्ताको कर्तव्य भएको बताउँदै दायाँ-बायाँ गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
पाँच दलीय गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आतङ्क रोक्न गठबन्धन आवश्यक रहेको जिकिर गरे। गठबन्धनका साझा उम्मेदवारलाई जिताएर पठाए मात्र गठबन्धन कायम हुने उनको भनाइ थियो।
“गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई छ। गठबन्धनकै कारणले प्रदेशदेखि संघमा सरकार बनेको छ,” देउवाले भने।
गठबन्धनका साझा उम्मेदवारलाई शङ्का नगर्न पनि देउवाले कांग्रेस नेता तथा कार्यकर्तालाई अनुरोध गरे। “गठबन्धनको उम्मेदवारलाई जिताउनु कांग्रेसको कर्तव्य हो। दायाँ–बायाँ गर्नेलाई कारबाही गर्छौं,” उनले भने।
एमाले अध्यक्ष ओलीले आतङ्क मच्चाएको आरोप लगाउँदै त्यसको अन्त्यका लागि गठबन्धन आवश्यक भएको उनको भनाइ थियो।
“आलीले जितेर गए, हिजो जस्तो फेरि पनि संसद् भङ्ग गर्न सक्छन्,” देउवाले भने, “प्रजातन्त्रको खिलाफमा जानेलाई चुनाव हराउनुपर्छ।” स्थायित्व र लोकतन्त्र बचाउन पनि गठनबन्धन बनाएको उनको भनाइ थियो।