सात दशकमा कहाँ चुक्यो नेपाली कलायात्रा?
अमूर्तशैलीलाई अघिल्लो वादसँग जोडेर बिस्तारै परिवर्तन गर्नु पर्थ्यो‚ तर त्यसो नगरी विदेशमा प्रचलित वादको अन्धानुकरण गरियो। हामी त्यहीं चुक्यौं।
नेपाल कला र संस्कृतिले समृद्ध मुलुक हो। विदेशीले नेपाललाई वास्तुकलाले ओतप्रोत भएको देश भनेर चिन्छन्। नेपाली मौलिक कला धेरै छन्। थाङ्का, पौभा, मण्डला, मिथिला नेपाली चित्रकला हुन्।
यस्तै‚ वास्तुकला, मूर्तिकला र सनातन कलाकृति पनि छन्। ती हाम्रा धर्म, संस्कृति र सामाजिक रहनसहनसँग जोडिएका छन्। अन्तर्राष्ट्रिय कला क्षेत्रमा ती कलाको विशिष्ट पहिचान छ।
अर्कोतर्फ आधुनिक र उत्तराधुनिक कलामा पनि हामी बिस्तारै अघि बढ्दै छौं। यस विधामा थुप्रै कलाकारको जन्म भइरहेको छ। उनीहरूले पश्चिमा मुलुकमा विकास भएका कलाका नवधारहरूलाई स्वदेशी भूमिमा प्रयोग गरिरहेका छन्। जसलाई नेपाली आधुनिक कलाको नामले चिनिन्छ।
नेपाली आधुनिक कलाको जग जंगबहादुर राणाको पालामा बसेको हो। जंगबहादुर पहिलो पटक बेलायत जाँदा उनको साथमा भाजुमान चित्रकार पनि गएका थिए। भाजुमानले त्यहाँ प्रचलित कलाशैली, प्रविधिको अवलोकन र अध्ययन गरे। त्यही समयदेखि नेपाली कलामा युरोपेली शैली भित्रिएको मानिन्छ। त्यसो त भाजुमानभन्दा ३० वर्षअघि नै राजमान भन्ने कलाकारले विदेशी शैली भित्र्याएको भन्ने पनि छ।
केही वर्षअघि सार्वजनिक भएको हरिहर जोशी र इन्दु जोशीको अनुसन्धानमुलक पुस्तिका द पायोनर आर्टिस्ट राजमान मा उक्त कुरा उल्लेख छ। यदि हरिमान र इन्दुको अध्ययनले देखाएको सत्य भए नेपाली कलामा आधुनिकताको जग भाजुमानले भन्दाअघि नै बसेको थियो।
राणा शासनका वेला नेपाली कला राणाहरूको स्तुति गाउने संशाधन जस्तो मात्र बनेको थियो। त्यस वेला नेपाली कलामा कलाकार बखतमान, पूर्णमान, दीर्घमान आदिको वर्चश्च थियो। उनीहरू स्वअध्ययनबाट खारिएका थिए। उनीहरूको कलामा घरेलु प्रविधिको प्रयोग प्रचुर हुने गर्थ्यो। त्यस समयमा बनाइएका राजा‚ महाराजा र राणाहरूका चित्रहरू अझै पनि कतिपय संग्रहालयमा सुरक्षित छन्।
उनीहरूपछि कला क्षेत्रमै औपचारिक शिक्षा लिएकाहरू आए। कलाकार चन्द्रमान मास्के, तेजबहादुर चित्रकार, कालीदास श्रेष्ठ, सिद्धिमुनि शाक्य कलामा औपचारिक शिक्षा लिएर आएका थिए। भारतमा औपचारिक शिक्षा हासिल गरेका उनीहरूले नेपालमा भारतीय कलाको प्रभाव भित्र्याए।
त्यसताका भारतीय भूमि आधुनिक कलामा माथि उठिसकेको थियो। तर‚ भारतबाटै प्रशिक्षित उनीहरू भने राजा, राणा र संभ्रान्तहरूकै चित्र बनाउन अल्मलिए। जसका कारण आफ्नो सीपको भरपूर सदुपयोग गरी नेपाली कला क्षेत्रमा आधुनिकता दिन सकेनन्।
राणाकालमा चित्र बनाएर श्री ३ लाई खुशी पारे कलाकारलाई बकस मिल्थ्यो। विदेश जाने र पढ्न जाने मौका मिल्थ्यो। यो लालचाले पनि कलाकारले आधुनिक कला पछ्याएनन्। जसका कारण नेपाली कलाले अन्तर्राष्ट्रिय गतिलाई आत्मसात् गर्न सकेन। भाजुमान र राजमानको कलामै सीमित रह्यो। फलस्वरूप विदेशी कला क्षेत्रको तुलनामा पछि पर्दै गयौं।
राणाकालको समाप्तिपछि भने नेपालमा आधुनिक कलाले फैलिने मौका पायो। युरोपेली र पाश्चात्य कलामा धेरै अघिदेखि स्थापित अभिव्यञ्जनावाद, प्रभाववाद, भाववाद, अमूर्तवाद, घनवाद तथा अन्य प्रयोगवादी अवधारणा नेपाली कलामा देखा परे। पीडा, द्वन्द्व, हिंसा झल्कन शुरू भयो।
यसै समयमा गेहेन्द्रमान अमात्य, लैनसिंह बाङ्देल, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, विजय थापा, ठाकुरप्रसाद मैनाली, उर्मिला गर्ग आदि कलाकारहरू उदाएका हुन्। तीमध्ये केहीको निधन भइसकेको छ भने केही कला क्षेत्रमा नै सक्रिय छन्। उनीहरूको आगमनपछि नै नेपाली कलामा अमूर्त र आधुनिक प्रयोगवादी शैलीको प्रयोग र मन्थन शुरू भएको हो।
२०१६ सालदेखि नेपाली कलामा अमूर्तकलाको लक्षण देखिए पनि २०१८ सालबाट मात्रै शुभारम्भ भएको मानिन्छ। फ्रान्सको बसाइ र अध्ययनपछि बाङ्देलले अन्तर्राष्ट्रिय मान्यता अनुरुप अमूर्तशैली नेपाली कलामा भित्र्याए। यस्ता कलाले नेपाली समाजको कला बुझाइको क्रमिकतालाई भङ्ग गरिएको मानिन्छ। तर‚ यस्ता कला बुझिंदैन भन्ने प्रतिक्रिया आएका थिए।
त्यो प्रतिक्रिया आउनु स्वाभाविक पनि थियो किनकि यसअघि वस्तुवादी र यथार्थवादी कला हेर्ने बानी थियो। अर्को कुरा‚ अमूर्तशैलीलाई अघिल्लो वादसँग जोडेर बिस्तारै परिवर्तन गर्नु पर्थ्यो। तर‚ त्यसो नगरी विदेशमा प्रचलित वादको अन्धानुकरण गरियो। हामी त्यहीं चुक्यौं।
यद्यपि, पछिल्लो समय भारत र पश्चिमेली मुलकबाट कला अध्ययन गरेर आएका कलाकारले यसलाई स्वीकारे। उनीहरूले मानवीय कुण्ठा, विसङ्गति, विद्रोह र प्रयोगका बिम्बहरू नेपाली कलामा समावेश गरे। रामानन्द जोशी पानी रङको प्रभाव र डालीको प्रभावमा कलाकार शशी शाह घोडा लिएर मुम्बईबाट आए। मुम्बईमै पढेका कृष्ण मानन्धरले ‘झ्वाम्म’ प्रकृति बर्साए।
प्रतीक र पौराणिक चित्र मुम्बईका उत्पादन बत्सगोपाल वैद्य र इन्द्र प्रधानले उतारे। पाकिस्तान, वनारस लगायत अन्य स्थानबाट अध्ययन गरेर आएका मनुजबाबु मिश्र, सुरेन्द्र भट्टराई, मदन चित्रकार, किरण मानन्धर, शशीकला तिवारी, राधेश्याम मुल्मी, रागिनी उपाध्याय लगायत कलाकारको सक्रियताले नेपाली आधुनिक कलाको मुहार सिंगार्ने काम भयो।
पछिल्लो समय नेपालमा स्थापित धेरै आधुनिक कलाकार छन्। युवा कलाकार पनि आउँदै छन्। नेपालमा कला क्याम्पस स्थापना भएकाले पनि यसमा सहयोग पुगेको छ। उनीहरू कलाको नौलो प्रयोगमा निरन्तर लागिरहेका छन्। नेपाली कलाले उत्तराधुनिकतामा फड्को मारिसकेको छ। नेपाली जनमानसमा आधुनिक वा समसामयिक कला प्यारो बन्दै गएको छ।
(निरौला कलाकार तथा कला समीक्षक हुन्।)