बुटवलमा कसको पल्ला भारी?
नेकपा (एमाले)को गढ मानिएको बुटवल उपमहानगरमा गठबन्धनका उम्मेदवारसँग रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
गत फागुनमा रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन भयो। त्यसमा सात राजनीतिक दल एकातिर र नेकपा (एमाले) मा अर्कातिर थिए।
विद्यालय व्यवस्थापन समितिको चुनाव होस् र उपभोक्ता समिति केन्द्रबाट कुनै निर्देशन आउन पर्दैन। एमाले एकातिर र अन्य दल एकातिर उभिन्छन्। यो किन हुन्छ भने यहाँ एमाले बलियो रहँदै आएको छ।
गत निर्वाचनमा पनि एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन बनेको थियो। यस पटक त झन केन्द्रबाटै पाँच दलीय गठबन्धन भएको छ। त्यसैले पनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा मेयरका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
२०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदी मेयरमा निर्वाचित भएका थिए। उनले २३ हजार २४९ मत पाएका थिए।
दोस्रोमा रहेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए। उनी फेरि गठबन्धनबाट बुटवल उपमहानगरको मेयरका उम्मेदवार बनेका छन्। कांग्रेस उपमहानगर कार्यसमितिका सभापति पाण्डेयलाई माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
एमालेले भने नयाँ अनुहार ल्याएको छ। एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराईलाई उम्मेदवार बनेका छन्। औषधि व्यवसायी भट्टराई एमालेका पूराना कार्यकर्ता हुन्।
यी दुई उम्मेदवारसँगै मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मृगेन्द्रकुमार शेरचन, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, मगाेंल नेशन अर्गनाइजेशनबाट खिमबहादुर थापा प्रतिस्पर्धामा छन्। त्यस्तै, रुद्रप्रसाद शर्मा, घनेन्द्र क्षेत्री र डिल्लीप्रसाद पाठक स्वतन्त्र उम्मेदवार छन्।
आठ जना उम्मेदवार रहेको भए पनि एमालेका भट्टराई र गठबन्धनका पाण्डेयबीच प्रतिस्पर्धा हुने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्। एमालेको गढ मानिएको बुटवलमा विभाजनको धेरै असर देखिएको छैन। एकीकृत समाजवादी गठन भएपछि बुटवलमा केही माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
यसका अतिरिक्त मेयरका उम्मेदवार भट्टराईको व्यापारी तथा व्यवसायीबीच राम्रो प्रभाव रहेको छ। त्यसले पनि उनी बलियो प्रतिस्पर्धीका रुपमा उभिएका छन्।
कांग्रेसका पाण्डेयसँग गठबन्धनको साथ छ। एमाले विभाजनको फाइदा पनि उनलाई मिल्नेछ। तर, कांग्रेसभित्र भने गूटको असर देखिन्छ। उनले टिकट पाएदेखि नै अर्को पक्षका नेता तथा कार्यकर्ता असन्तुष्ट देखिन्छ।
यस्तो छ विगतको लेखाजोखा
२०७४ को स्थानीय निर्वाचनमा एमालेका शिवराज सुवेदी मेयरमा निर्वाचित भएका थिए। उनले २३ हजार २४९ मत पाएका थिए।
दोस्रो नम्बरमा रहेका खेलराज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए। तेस्रो नम्बरमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका जनकबहादुर थापा मगरले एक हजार १५१ मत पाएका थिए।
यस पटक भने मतदाता बढेका छन्। अघिल्लो पटक निर्वाचित भएका मेयर सुवेदीले पाएको मतभन्दा बढी अर्थात २३ हजार ४०२ मतदाता थपिएका छन्। नयाँ मतदाता निर्णायक देखिन्छ।
गत निर्वाचनमा ६६ हजार ६६३ मतदाता थिए। यस पकट ९० हजार ६५ मतदाता रहेका छन्।