‘भारतमा ट्रोलले क्षणभरमै तहसनहस बनाउँछ, त्यो हावा नेपालतिर आउन सक्छ’
पत्रकार रवीश कुमारले भारतमा सरकार विरुद्ध बोल्दा ट्रोलले विश्लेषक तथा पत्रकारको छवि क्षणभरमै तहसनहस बनाउने गरेको उल्लेख गर्दै त्यो हावा नेपालतर्फ पनि आउन सक्ने चिन्ता जनाएका छन्।
काठमाडौंमा शनिबार आयोजित हिमाल मिडिया मेला २०२२ मा बोल्दै पत्रकार कुमारले भारतको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सचेत हुन आग्रह गरे। मेलाको ‘मुक्त आवाज’ शीर्षकको बहसमा पत्रकार कनकमणि दीक्षितसँगको संवादमा उनले सरकार तथा राजनीतिक दलको माला त्यागेर प्रश्न गर्न निडर हुनुपर्ने बताए।
भारतमा प्रश्न गर्ने पत्रकार र मिडिया घटिरहेको बताउँदै त्यो हावा नेपालमा पनि आउन सक्ने उनको भनाइ थियो। “नेपाल र भारत सीमाले फरक होलान्, तर हावाले फरक छैनन्। संस्कार, संस्कृति सबैको एउटै इलाका जस्तै छ। नेपाल पनि त्यसबाट प्रभावित हुन सक्छ,” कुमारले भने।
भारतको जस्तै नेपालका मिडियामा पनि मिथ्या समाचारको विष घोलिन सक्ने उनको चिन्ता थियो। तर, यस्ता विषयको विपक्षमा बोल्दा ट्रोल बन्ने जोखिम रहेको बताए।
अझ यस्ता विषयमा पुरुषलाई भन्दा महिला विश्लेषक र पत्रकार बढी ट्रोल हुने गरेको उनले सुनाए। “यस्तो अवस्थाले समाजका आउनुपर्नेमध्ये ९० प्रतिशत कुरा आउँदैनन्। यसबाट डराउनुपर्ने अवस्था आउँछ,” उनले भने।
निष्पक्ष बोल्दा ट्रोल बन्ने र यसले मानसिक असर गर्ने उनको अनुभव थियो। “ट्रोल बनाएर एकातिर ध्यान खिच्ने र अर्कातर्फ भित्रभित्रै गलत राजनीति खेल्ने गरिन्छ,” उनले भने। यसबाट सामाजिक रूपमा छवि धूमिल हुने र मानसिक रूपमा पनि समस्या आउने गरेको बताए।