‘डिजिटल माध्यमले समाचारमा जनताको पहुँच बढाएको छ’
डिजिटल माध्यमको प्रयोगले समाचारमा जनताको पहुँच बढेको एक कार्यक्रमका सहभागीले बताएका छन्।
शनिबार काठमाडौंंमा आयोजित हिमाल मिडिया मेला २०२२ अन्तर्गत ‘पत्रकारिताको अर्थ–राजनीति’ विषयक छलफलमा सहभागी पत्रकारले डिजिटल माध्यमले समाचारमा जनताको पहुँच बढाएको बताएका हुन्। छलफलमा सहभागी पत्रकार अमित ढकाल, आरती चटौत र सुधीर शर्माले मिडिया माध्यमको युग फेरिएको बताए।
कार्यक्रममा पत्रकार कुन्द दीक्षितले छापा माध्यमको आयुका विषयमा सोधिएको प्रश्नमा पत्रकार शर्माले अझै छापा माध्यमको प्रभाव रहेको भए पनि डिजिटलमैत्री हुँदै गएको बताए। यसले पाठकको पहुँच बढाएको उनको भनाइ थियो।
अडिअन्सले नयाँ कुराको खोजी गरेकै कारण छापा माध्यम पनि नयाँ प्रविधिमा परिवर्तन भइरहेको उनको भनाइ थियो। डिजिटल माध्यम विश्वसनीय बन्न नसकेको उल्लेख गर्दै उनले भने, “नयाँ प्रविधिमा सामाजिक सञ्जाल धेरै हावी भएका कारण पनि छापा माध्यमप्रति विश्वास बढी छ। तथ्य पत्ता लगाउन छापा नै हेरेको देखिन्छ।”
त्यस्तै, पत्रकार चटौतले मिडियाको माध्यम फराकिलो भएको बताइन्। मिडिया नयाँ प्रविधिमा गएकै कारण छापा माध्यमको विज्ञापन घटेर डिजिटलतर्फ गइरहेको उनको भनाइ थियो। “छापा मात्रै होइन, टेलिभिजन पनि डिजिटल माध्यमतिर सिफ्ट भइरहेका छन्। आफ्ना कन्टेन्ट बिकाउन थम्बनेल र गुणस्तरमा सचेत हुनु परिरहेको छ,” चटौतले भनिन्।
डिजिटल माध्यमले जनताको पहुँचमा समाचार पुर्याइरहेको पत्रकार ढकालको मत छ। जसले गर्दा प्रजातन्त्रलाई बलियो बनाउन सहयोग पुगेको उनको भनाइ छ।
योसँगै पत्रकारिता डिजिटल माध्यममा सिफ्ट भएकै कारण त्रुटि पनि चाँडै सुधार हुने गरेको बताए। त्यसमा पाठककै भूमिका महत्त्वपूर्ण रहन थालेको उनको भनाइ थियो।
“तत्काल त्रुटि सच्याउन नभ्याए ट्रोल बनिन्छ,” ढकालले भने, “यसले हामीलाई सजग गराएकै छ। गलत समाचार धेरै समय प्रचार हुन पाउँदैन।”