बलर चम्किँदा नेपालको सहज जित
जिम्बाबेसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल नौ विकेटले विजयी भएको छ।
शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलर चम्किएपछि नेपालले सहज जित हासिल गरेको हो। जिम्बाबेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सुनील धमलाले ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले चार रन बनाए। जिम्बाबेका लागि ब्रान्डन मिटुवाले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले ३१.५ ओभरमा ८७ रन बनाएको थियो। जिम्बाबेका लागि ब्राड इभान्स्ले २० र सेफास जुवाओले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि करण केसी र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई र सागर ढकालले एक विकेट लिए।
एकदिवसीय श्रृङ्खला अन्तर्गत शुक्रबार भएको पहिलो खेल पनि नेपालले जितेको छ। अब नेपाल र जिम्बाबेबीचको तेस्रो खेल सोमबार हुनेछ।