‘ब्ल्याकमेल पत्रकारिताबाट व्यावसायिक पत्रकारितालाई खतरा’
व्यावसायिक पत्रकारितालाई ‘ब्ल्याकमेल पत्रकारिता’ बाट खतरा रहेको एक कार्यक्रमका वक्ताले बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित हिमाल मिडिया मेला २०२२ अन्तर्गत नैतिक र जवाफदेही पत्रकारिता शीर्षकको बहसमा बोल्दै वक्ताहरूले समाचार देखाएर ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति बढेकोमा चिन्ता जनाएका छन्। पत्रकार युवराज घिमिरेले नेपाली मिडियामा ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्ति बढ्दै गएको बताए।
मिडिया जवाफदेही नहुने प्रवृत्ति बढिरहेको बताउँदै घिमिरले भने, “ब्ल्याकमेल पत्रकारिताले व्यावसायिक पत्रकारितामाथि जोखिम झन् झन् बढाएको छ। जुन पत्रकारितामा हुनु हुँदैन।”
त्यस्तै, अर्का पत्रकार प्रतीक प्रधानले ‘ब्ल्याकमेल’ पत्रकारिता मौलाएको र यसले भारतमा जस्तै गोदी मिडियाको सङख्या बढ्ने खतरा रहेको औंल्याए। यसले मिडिया मालिक र पत्रकार बिकाउ बन्ने खतरा बढेको बताए।
“पत्रकारिता गरेर अवस्था बदल्न राज्य र समाजलाई सघाउन आउने भन्दा पनि आफैं राजदूत, मन्त्री हुन पार्टीको झण्डा बोकेर आउने बढे,” प्रधानले भने, “नयाँ पुस्ता नै पैसा कमाउन, त्यो पनि राजनीतिक र आर्थिक अभीष्टबाट आएको देखिन्छ।”
यसबाट उम्किन सञ्चार माध्यम एक्लैले नसक्ने उनको भनाइ थियो। यसका लागि राजनीतिक दल र समाजका सबै अङ्ग पनि जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, अध्येता सोना खटिकले सञ्चार माध्यमलाई जवाफदेही बनाउन व्यवस्थापक र सञ्चालक को हुन् भन्ने कुराले निर्धारण गर्ने बताइन्। रेडियोको उदाहरण दिंदै उनले व्यक्तिले भन्दा समुदायले चलाएको रेडियो जवाफदेही देखिएको बताइन्।