अनि १४ वर्षपछि अभिनयमा फर्किए विमल
यसअघि पनि आफ्ना सङ्कल्प तोडिसकेका विमलले यस पटक अभिनयमा नफर्किने भनी १४ वर्षअघि गरेका सङ्कल्प तोडेका छन्। उनी पल्पसा क्याफेबाट नाटकको अभिनयमा फर्किएका छन्।
फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि मानिस जुन कुराबाट अलग हुन चाहन्छ उसलाई त्यसैले पछ्याउँछ‚ जसरी विमल सुवेदीलाई अभिनयले पछ्याइरहेको छ। उनले १४ वर्षअघि घोषणा गरेका थिए, “निर्देशन गर्छु, फिल्म डिजाइनर हुन्छु‚ नाटकमा अभिनय गर्दिनँ।’।
तर‚ वनवास गएका राम १४ वर्षपछि फर्किए जस्तै पल्पसा क्याफेबाट नाटकको अभिनयमा फर्किएका छन् विमल। नाटकका मुख्य पात्र र निर्देशकको जिम्मेवारी उनलै निर्वाह गरेका छन्।
आफ्नो अग्रसरतामा सन् २०१३ मा स्थापना भएको थिएटर भिलेज नेपाल बन्द भएपछि उनलाई नेपालमा बस्न सकस भयो। त्यसैले केही वर्ष जर्मनी र बेलायतमा कला व्यवस्थापन विषय अध्ययनसँगै नाटक मञ्चन गरे। तर‚ नाटक निर्देशन गर्ने हुटहुटी भने मनमा थियो।
सन् २०१७ मा नेपालका युवा निर्देशकहरूलाई ‘मेन्टरशिप’ को तालीम दिने भए। “त्यहाँ ‘जनयुद्ध’सँग सम्बन्धित नाटक मञ्चन गर्ने भइयो,” विमलले पल्पसा क्याफे नाटकसँग जोडिनुको पृष्ठभूमि सुनाए, “द्वन्द्वका कारण किनारामा छुटेका मान्छेहरूको कथा बोल्नुपर्छ भन्ने लाग्दा पल्पसा क्याफेको नाम छनोट भयो।”
यस लगत्तै विमलले पल्पसा क्याफे उपन्यासका लेखक नारायण वाग्लेसँग अनुमति मागे। वाग्लेले पनि स्वीकृति दिन समय लगाएनन्। २०७७ जेठदेखि नाटकको पूर्व अभ्यास शुरू भयो। नाटकको मुख्य पात्र ‘दृश्य’ को भूमिकामा कलाकार विपिन कार्की चुनिए। तर‚ उनको व्यस्तताका कारण नाटक मञ्चन हुन सकेन। मुख्य पात्र अलपत्र पर्यो। विमलले सुनाए‚ “दृश्यको अभिनय गर्न विपिनको विकल्प नसोचेकाले नयाँ पात्र छनोट गर्न लामो समय सकस भयो।”
नाटकमा दृश्यले बोल्ने ‘डायलग’ हरू विमलले अरूलाई अभ्यास गराउँथे। यही वेला नाटक पल्पसा क्याफेका सहनिर्देशक दिलीप रानाभाटले मुख्य पात्रका रूपमा विमललाई देखिसकेका थिए। दृश्यको भूमिका कसैले न्याय दिन्छ भने त्यो विमल नै हुन् भन्ने दिलीपले निर्क्योल गरे। सबैको आग्रह र नाटक मञ्चनको समय नजिकिएपछि विमलले पनि ‘दृश्य’ को भूमिका स्विकार्नुको विकल्प रहेन।
नाटकको मुख्य पात्र हुनु बाध्यतामा परेर विमल अनुबन्धित भएको देखिए पनि आफूभित्र रहेको ‘दृश्य’ नै नाटक मार्फत बाहिर आएको उनी बताउँछन्। “दृश्यले द्वन्द्वको राप र तापको अनुभव गरेको छ‚ मैले बाँचेको जीवन पनि त्यही थियो‚” विमलले सुनाए‚ “दृश्यको पर्खाइ र आफ्ना गुमाउनुको पीडाभन्दा मेरो पीडा पनि फरक छैनन्।”
विमल पल्पसा क्याफेका दृश्य र आफूमा समानता भएको बताउँछन्। दृश्य पात्र नाटकमा जति सशस्त्र द्वन्द्वबारे राजनीति र सामाजिक रूपमा सजग छन्‚ विमल पनि। विमल २०४६ सालको जनआन्दोलनमा सात वर्षका थिए। स्काउटमा भएका उनी विद्यालयबाटै आन्दोलनमा परिचालित कार्यक्रममा जानुपर्थ्यो।
दृश्यले नाटकमा आफ्नी प्रेमिका पल्पसालाई गुमाउँछन्‚ विमलले पनि माओवादी द्वन्द्वकालमा आफूले दिदी मानेकी सम्झना दाहाललाई गुमाएका छन्। नाटकमा हजुरआमाले जसरी पर्खनेहरूको कथा व्यक्त गरेकी छन्‚ विमलका नजिकका साथी र आफन्तहरूले पनि बेपत्ता पारिएका बुबा, आमा, दाइ‚ दिदीहरूको प्रतीक्षा गरिरहेका छन्। यी सबैले नाटकको पात्र र आफ्नो जीवन फरक नभएको विमल बताउँछन्।
उनले भने‚ “यसले पनि होला‚ मलाई नाटक यति मनमा गढेको छ‚ प्रत्येक पात्रको डायलगदेखि प्रत्येक मुभमेन्ट आँखामा सलबलाउँछन्। बाटो, घर, कोठा, निद्रा सबैमा राज गरेका छन्।”
नाटकमा आफैं मुख्य पात्रका रूपमा देखिनुको अर्को कारण पनि उनले सुनाए। “शेक्सपियरको म्याकबेथलाई जसरी जङ्गलमा बोक्सी पात्रहरूले जसरी तँ सक्छस्, तँ सक्छस् भनी राजा बन्न हौस्याउँछन्। त्यसै गरी सहकर्मीहरूले मलाई आँट दिए,” विमलले मुस्कुराउँदै भने, “त्यसले पनि ममा अब स्टेज फेस गर्छु भन्ने महत्त्वाकाङ्क्षा बढ्यो। राम्रो त किन हुन्थ्यो र! आफूलाई चाहिं निखारें।”
विमलले यसअघि सत्यमोहन जोशीको चारुमती, अभि सुवेदीको सान्दाजुको महाभारत, सञ्जीव उप्रेतीको मकैको अर्कै खेती नामक नाटकको निर्देशन गरिसकेका छन्। यस्तै‚ रवीन्द्रनाथ टेगोरको मालिनी, हलिउडका नाट्य निर्देशक रोबर्ट लिनसँगको सहकार्यमा अ नाइट विथ माओ निर्देशन गरेका छन्। अ नाइट विथ माओ, मालिनी, ह्याम्लेट लगायत केही नाटक त विदेशमा पनि प्रदर्शन भएका छन्। यी सबै काम गरिरहँदा उनलाई नेपाल र भारतका चलचित्रमा काम गर्ने अवसर पनि आएका थिए। तर‚ निर्देशनमा लगाव भएकाले अभिनय नगर्ने भन्दै पन्छिए।
नेपालमा रहेर अभिनय छाड्नुको कारण निर्देशनमा रमाउनु नै मुख्य कारण रहेको विमल बताउँछन्। तर‚ यस बाहेक पनि नाटकमा अभिनय नगुर्नको कारण पहिलो पटक हिमालखबरमा खुलाएको बताउँदै उनी भन्छन्, “खासमा हरेक व्यक्तिका केही न केही कमजोरी हुन्छन्। पछिल्लो समय अभिनय नगर्नुको कारण म एउटा लाइन डायलग पनि सम्झन नसक्ने भएको थिएँ। त्यस्तो वेला कसरी स्टेज फेस गर्न सक्थें र!”
उनले आफू शर्ट मेमोरी भएको व्यक्ति बनेको बताए। त्यसैले त आफन्त वा साथीहरूले उनलाई बच्चा हेर्न नदिने गरेको उनले सुनाए। किनकि‚ खेलाउँदा खेलाउँदै कति वेला बच्चालाई छाड्थें, थाहै पाउँदिनथें। यही कारण विमललाई अभिनय प्रिय लागे पनि डायलगको भारले कुल्चेको अनुभूति हुन्थ्यो। तर‚ पल्पसा क्याफेमा दृश्य बनेका उनले झण्डै नाटकको दुई चौथाइ डायलग बोलेका छन्। यो अभ्यास र एकाग्रताको परिणाम त थियो नै, चमत्कार पनि भएको उनको बुझाइ छ।
“केही कुराको चमत्कार पनि भएको हो कि!” विमलले भने, “मेरो मेमोरी ब्याक भएको हुनुपर्छ। किनकि‚ मैले अहिलेसम्म खेलेका नाटकहरूको डायलग एकातर्फ र पल्पसा क्याफेको डायलग एकातर्फ राख्दा पल्पसाकै डायलगको वजन धेरै हुन्छ।” पल्पसा क्याफेमा उनले आधा घण्टाभन्दा बढी बोल्नुपर्छ।
पल्पसा क्याफेले आफूलाई दुई वटा कुरामा सहज बनाएको विमलको अनुभव छ। एउटा‚ अभिनय छाडें भन्दाभन्दै फेरि फर्किएर रमाउन सकेको। अर्को, स्टेज फेस गर्नबाट भागिरहेका उनलाई अब यही प्रिय लाग्न थालेको छ। यस्तै‚ लेखक नारायण वाग्लेले नाटक हेरेपछि आफ्ना पात्रहरू फराकिला भएको अनुभव सुनाएपछि आफू प्रफुल्लित भएको विमलले सुनाए। उनी यसको श्रेय सहनिर्देशक दिलीप रानाभाट, नाट्य रूपान्तरक सुरज सुवेदी र सबै कलाकारहरूलाई दिन्छन्।
नाटकमाथि राजनीतिक आरोप
विमल नाटकका मुख्य पात्रसँगै निर्देशक पनि भएको यो पहिलो पटक हो। उनलाई हाम्रो जिज्ञासा पनि थियो- निर्देशक र कलाकार आफैं भएका वेला गाली गर्ने कोही नहुँदा रमाइलो पनि त होला नि? उनले हाँस्दै जवाफ फर्काए, “हो नि‚ निर्देशकले गर्ने कन्ट्रोल मलाई भएन। म जता पनि बग्न पाएँ। तर‚ मेरो कमजोरी पत्ता लगाउन भिडिओ खिचें‚ त्यो हेरेर सुधार गरें।”
पल्पसा क्याफेमा निर्देशक र मुख्य पात्र आफैं हुँदा सकस पनि थियो। त्यसलाई उनले सहज बनाए। विमललाई वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मुखमै द्वन्द्वको घाउ बल्झाउन लागेको आरोप पनि लागेको छ। तर‚ विमल भने नाटकमा माओवादी आन्दोलनका नकारात्मक पक्ष नउधिनेको नभई सिद्धान्तको पक्षबाट आन्दोलनले ल्याएका सकारात्मक पाटो पनि कथेको बताउँछन्।
“आज पनि घाइते गाउँ फर्कन सकेका छैनन्, घाइतेका जीवन मृत्युतुल्य छ। यस्ता कथा अझै आउनुपर्ने होइन त? नाटक भनेको पनि एड्भोकेसी नै हो‚” उनले अझ प्रष्ट्याए‚ “नाटकबाट युद्धको घटना देखाउन बुद्ध र गान्धीको पथ चुनेका हौं।”
विमललाई नयाँ नाटक बनाउन नसकी साहित्यिक कृतिलाई नै मञ्चन गरेको आरोप पनि छ। नयाँ नाटक किन मञ्चन गर्न नसकेको भन्ने प्रश्नमा उनले भने‚ “साहित्यको रूपान्तरणमा पनि नाटक शक्तिशाली माध्यम हो।”
ओस्कारमा पनि ‘बेस्ट एडप्टेशन अवार्ड’ भन्ने बेग्लै विधा हुने भएकाले साहित्यिक कृतिपछि पनि नाटकमा ‘एडप्टेशन र ट्रान्सफर्मेशन’ को कामले नाटक चहकिलो बनेको उनी दाबी गर्छन्। विमल पनि रूपान्तरमा काम गर्दा बढी कला र शिल्पमा खेल्न पाएको बताउँछन्।
सन् २००९ मा भारतको दिल्लीस्थित स्कूल अफ ड्रामा (एनएसडी) बाट रङ्गमञ्चमा प्रविधि, डिजाइन र निर्देशनमा स्नातकोत्तर गरेका विमल सिर्जनात्मक क्षमताका हिसाबले अरूभन्दा पृथक छन्। त्यसैले भोलि के नयाँ गर्ने भन्ने सोचिरहन्छन्। पात्रलाई आफूभित्र समाहित गर्छन्। त्यही कारण ‘दृश्य’ पात्रका काल्पनिक प्रश्नको उत्तरमा उनले धेरै रात बिताएका छन्।
कसको प्रतीक्षा?
नाटकको अन्त्यमा दृश्यले हजुरआमालाई भन्छन्, “अब त छुट्टिने कुराको डरले जोडिन पनि सक्दिनँ।” यस डायलगले आफैंलाई गिज्याए जस्तो लागेको विमल बताउँछन्।
उनले जीवनमा दुई कुरा कहिल्यै नगर्ने सङ्कल्प गरेका थिए। एक‚ जागीर नखाने। तर‚ उनले शिक्षण गरे। अर्को‚ विवाह नगर्ने। तर‚ विवाह गरे। अहिले सम्बन्ध टुटिसकेको छ। त्यसैले दृश्यका भोगाइ र सोचाइ आफ्ना जस्तै लाग्ने विमलले सुनाए।
पल्पसा क्याफे हर्दै गर्दा एउटा प्रश्न उब्जिन सक्छ। जसरी नाटकलाई पर्खिनेहरूको कथा भनिएको छ‚ नाटकलाई आफ्नो सन्तानलाई जसरी फुलाउन‚ फलाउन लागिपरेका निर्देशक वा पात्रहरूले वास्तविक जीवनमा पनि कसैलाई त पक्कै पर्खिएका होलान् नि? यही अनुमान लगाएर कुराकानीको अन्त्यमा विमलसँग छोटो प्रश्नोत्तर नै गरियो।
विमलजी‚ नाटकमा दृश्य र हजुरआमाले पर्खनेहरूको आयु घट्छ भन्दै फेरि पनि कसैलाई पर्खिरहेका छन्। तपाईं पनि कसैको प्रतीक्षामा त हुनुहुन्न? उनले बडो गमेर जवाफ फर्काए, “वास्तविक जीवनमा ‘दृश्य’ सँग थोरै नमिलेको कुरा यही हो। मैले व्यक्तिको प्रतीक्षा गर्न छाडिसकें। तर‚ जनताको ‘एनाटोमी’ बुझ्ने व्यवस्थाको व्यग्र प्रतीक्षामा भने छु।”