प्रश्न नगर्ने कसरी पत्रकार हुन्छ: रवीश कुमार
पत्रकार रवीश कुमारले भारतमा 'गोदी मिडिया' ले प्रश्न गर्नै छोडेको उल्लेख गर्दै शासकलाई प्रश्न गर्न छोड्न नहुने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित हिमाल मिडिया मेलामा विद्वत् प्रवचन दिंदै पत्रकार कुमारले गोदी मिडियाको सिको गर्न नहुने बताए। भारतमा सरकारको समर्थनमा रहेका सञ्चार माध्यमलाई गोदी मिडिया भन्ने गरिएको छ।
पत्रकार कुमारले भारतका ९९ प्रतिशत मिडिया ‘गोदी मिडिया’ बनेको बताए। यी मिडियाले साहसिक पत्रकारिता खत्तम गरिरहेको उनको भनाइ थियो। उनले भने, “गोदी मिडियाका कारण जनतामा जनमत भन्दा पनि गणमत अर्थात फिक्स मत बनेको छ।”
मिडियाले भनेको कुरा जनताले विश्वास गर्ने भएकाले समाचार दिंदा सचेत हुनुपर्ने उनले बताए। मिडियामा आउने विषयवस्तुले लोकतन्त्रलाई समेत असर पार्ने उनको भनाइ थियो।
उनले कोरोनाभाइरसको वेला भारतमा अक्सिजनको आपूर्तिका विषयमा आएका समाचारलाई उदाहरणका रूपमा प्रस्तुत गरे। त्यति वेला भारतमा पनि अक्सिजनको कमी भएको थियो। तर, अहिले भारतको सरकारले त्यस वेला अक्सिजनको कमी नभएको मिडियाबाट समाचार दिइरहेको उनले बताए। यस घटनाले नै मिडिया कहाँबाट सञ्चालित छ भन्ने प्रष्ट भएको उनको भनाइ थियो।
अहिले सञ्चार माध्यममा गलत समाचार हावी भइरहेको उनले बताए। भारतका मिडियाले पनि कोरोनाको महामारीमा होस वा युक्रेन र रुसको लडाइँका विषयमा गलत समाचार दिएको बताए। “युक्रेनमा परमाणु एक्पोजनको चिन्ताले जेलेन्स्की डिप्रेसनमा’ जस्ता समाचारले सनसनी फैलाएका थिए। यस्ता गलत समाचारले र प्रचारले कुनै दिन पत्रकारिता पेशा नै गायब हुन सक्छ,” उनले भने।
भारतका केही मिडियाले राम्रो पनि काम गरिरहेको उनले बताए। तर, राम्रो गरिरहेका पत्रकारको कसैले नाम नलिने गरेको उनको भनाइ थियो।
भारतसँगै अन्य देशका सञ्चार माध्यम पनि गलत समाचारको पुलिन्दा बनिरहेको उनले बताए। श्रीलंकाको उदाहरण दिंदै पत्रकार कुमारले भने, “पहिला श्रीलंकाको मिडिया पनि सरकारको गुलाम थियो। अहिले जब सङ्कट आइलाग्यो, तब बोल्न थालेका छन्। सुधारका क्रममा छन्।”
यससँगै सूचनाको संसारमा सूचनागृहहरू कोबाट निर्देशित र चलायमान छन् भन्ने पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। सरकार र राजनीतिकर्मीको कठपुतली नबने पत्रकारले प्रश्न गर्न नडराउने उनको विश्वास छ। “भारतमा गोदी मिडियाले अरूलाई पत्रकारिता छाड्नुपर्ने बनाएको छ,” त्यस्तो हुन नदिन प्रश्न गर्न छोड्न नहुने बताउँदै कुमारले भने, “प्रश्न नगरे कसरी पत्रकार हुन्छ?”
उनले छिमेकी देशमा देखिएका पत्रकारिताका विषयमा छलफल गर्नुपर्ने बताए। अहिले नै समस्या खोतल्नतिर लाग्नुपर्ने उनको सुझाव थियो।