धनगढीमा गठबन्धन र एमालेलाई स्वतन्त्रको चुनौती
सुदूरपश्चिमको प्रमुख शहर धनगढी उपमहानगरको मेयरमा सत्तारूढ गठबन्धन र एमालेलाई स्वतन्त्र उम्मेदवार चुनौती बनेका छन्।
निर्वाचन नजिकिंदै जाँदा धनगढी उपमहानगरपालिकामा दलहरूले चुनावी गतिविधिलाई तीव्र पारेका छन्। उपमहानगरको मेयरमा एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड मेयरका उम्मेदवार छन्। उनी धनगढीका निवर्तमान मेयर हुन्।
नेकपा (एमाले) बाट रणबहादुर चन्द उम्मेदवार बनेका छन्। त्यस्तै, व्यवसायी गोपाल हमाल स्वतन्त्र उम्मेदवार बनेका छन्। उनी गत निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बनेका थिए।
गठबन्धन र एमालेका नेता तथा कार्यकर्ता एकअर्का दलीय प्रतिस्पर्धीको भन्दा पनि स्वतन्त्र उम्मेदवार हमालको आलोचना गर्न थालेका छन्। यहाँका प्रायः सबै चुनावी सभामा दलका नेताले स्वतन्त्र उम्मेदवारको विपक्षमा बोलिरहेका छन्। उनीहरू आफू जित्ने दाबी गर्छन्।
गठबन्धनका उम्मेदवार वडले गत पाँच वर्षसम्म धेरै काम गरिसकेको र अधुरो काम पूरा गर्न फेरि मेयर बन्न खोजेको बताए। गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने, गेटा विमानस्थलको स्तरोन्नति गर्ने, सुकुम्बासी लगायतलाई लालपुर्जा वितरण गर्ने उनका चुनावी प्रतिबद्धता छन्। धनगढी उपमहानगरलाई स्वास्थ्य, शिक्षा, कृषि र खेलकूदको हबका रूपमा विकास गर्दै महानगरपालिका बनाउने सङ्कल्प बोकेको उनी बताउँछन्।
उनले आफ्नो प्रतिस्पर्धीका रूपमा एमालेकै उम्मेदवारलाई देखेका छन्। “बजारमा स्वतन्त्र उम्मेदवार विजयी हुने हल्ला चलेको छ। तर, निर्वाचनमा दलबीच नै प्रतिस्पर्धा हुन्छ। एउटा सिङ्गो व्यक्तिले हल्ला बाहेक केही गर्न सक्दैन त्यसैले जनता भ्रममा नपर्नू,” उनले भने।
विकास निर्माणका काम गर्न पनि दलकै नेतृत्व चाहिने उनी बताउँछन्। स्वतन्त्र विजयी भएमा पनि केही गर्न नसक्ने उनको भनाइ छ। “दलसँग गाउँटोलदेखि संघीय सरकारसम्म पहुँच हुन्छ, जसले गर्दा दलबाट आएका जनप्रतिनिधि विकास निर्माणको काम गर्न सक्षम हुन्छन्,” वडले भने, “पार्टीलाई छोडेर स्वतन्त्रको पछि लाग्दा धोका मात्रै मिल्छ।”
एमालेबाट मेयरका उम्मेदवार चन्द पनि स्वतन्त्र उम्मेदवारबाट केही काम नहुने जिकिर गर्छन्। कांग्रेसले पाँच वर्षमा जनचाहना अनुसार काम गर्न नसकेकाले यस पटक एमालेले मौका पाउने उनको भनाइ छ। “२०७४ सालमा नगरबासीले कांग्रेसका नृपबहादुर वडलाई निर्वाचित गरेर पठाए, तर पाँच वर्षसम्म कुनै काम गरेनन्,” उनले भने।
निवर्तमान मेयर वडले काम गर्न नसकेकाले नै पाँच दल मिलेर धनगढीमा चुनाव लडिरहेको उनको भनाइ छ। स्वतन्त्र उम्मेदवार हमालले भ्रम छरिरहेको चन्दको आरोप छ। “जीवनभर व्यापार, व्यवसायमा समय बिताएका स्वतन्त्र उम्मेदवार हमालले पैसाको बलमा धनगढीको विकास गर्छौं भन्नु जनतामा भ्रम छर्नु हो,” उनले भने।
स्वतन्त्र उम्मेदवारी दिएका हमालले भने कांग्रेस र एमालेका नेताहरूले केही नगरेपछि आफू उम्मेदवार बनेको बताए। आफूले जिते पाँच वर्षसम्म कुनै सेवासुविधा नलिई काम गर्ने र धनगढीलाई भ्रष्टचारमुक्त पालिका बनाउने उनको सङ्कल्प छ।
आफू दलीय व्यवस्थाको विरोधमा नभएको र संविधानले दिएको अधिकार उपयोग मात्रै गरेको हमालको भनाइ छ। “लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हो। दललाई ठूलो बनाउने पनि जनताले हो। जनता सर्वोपरि हो,” हमालले भने, “अहिले जनता धेरै बुझ्ने भएका छन्। जातीयता र वर्गीयताको नाममा कसैले भ्रामक प्रचार नगरे हुन्छ।”
आफू काम गर्न उम्मेदवार बनेको उनको भनाइ छ। “विगत लामो समयदेखि व्यवसायी र सामाजिक क्षेत्रमा काम गरेको अनुभवले म जे बोल्छु, त्यो काम गरेरै छाड्छु। मेरो पहिलो प्राथमिकता जनताको काम हो, धनगढीको विकास हो,” उनले भने, “म निर्वाचित भएँ भने सरकारको तलब, भत्ता, गाडी, इन्धन केही पनि चाहिंदैन। मलाई धनगढीले बनायो, अब म धनगढीका लागि केही गर्छु।”
गत चुनावको गणित
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका वड मेयरमा निर्वाचित भएका थिए। उनले १४ हजार ३२४ मत पाएका थिए।
दोस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार हमाल आएका थिए। उनले ११ हजार ५२७ मत पाएका थिए।
त्यस्तै, तेस्रो नम्बरमा रहेका माओवादीका रामसमझ रानाले १० हजार २०९ मत पाएका थिए। एमाले उम्मेदवार दुर्गादत्त जोशी चौथो नम्बरमा थिए। उनले नौ हजार ९४६ मत पाएका थिए।
यस पटक कांग्रेस उम्मेदवार वडलाई माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले सघाइरहेका छन्। एमालेमा विभाजनको असर पनि छ। यस्तो वेला स्वतन्त्र उम्मेदवार हमाल नै गठबन्धनसँग प्रतिस्पर्धामा देखिन्छन्।