धरान: यस पटक ‘लेफ्ट’ कि ‘राइट’?
लाहुरेको शहर धरानमा यस पटकको निर्वाचनमा पनि ‘लेफ्ट’ र ‘राइट’ पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एक पल्टन धरान लेफ्ट लेफ्ट लेफ्ट मात्र गर्दो छ,
अर्को पल्टन धरान राइट् राइट् गर्दै सर्दो छ,
अर्को ब्रिगेड धरान अटेन्सन्को मुद्रामा जडवत् उभिई,
न अगाडि बढ्दो छ, न पछाडि सर्दो छ।
कवि भूपि शेरचनको ‘धरान’ कविताका यी पङ्क्तिले धरानका लागि दुई वटा अर्थ दिन्छन्। एउटा, लाहुरेको बसोबास रहेको शहर र दोस्रो, यहाँको राजनीतिक चरित्र। किनकि, कहिले कम्युनिष्ट अगाडि देखिन्छन् भने कहिले कांग्रेस।
अझ रोचक त कहिले कम्युनिष्ट पार्टीहरू मिलेर कांग्रेस विरुद्ध लड्छन् भने कहिले कम्युनिष्ट र कांग्रेस मिलेर कम्युनिष्ट विरुद्ध नै लड्छन्।
आसन्न स्थानीय तह निर्वाचनमा पनि यो कविता उत्तिकै सान्दर्भिक छ। धरान उपमहानगरको मेयरका लागि एकातिर नेकपा (एमाले) छ भने अर्कातिर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। एमालेले मञ्जु भण्डारीलाई मेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनले कांग्रेसका किशोर राईलाई अगाडि सारेको छ।
उनीहरूसँगै मेयरका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमा मुख्य प्रतिस्पर्धा भने एमाले र गठबन्धनबीच नैै हुने देखिन्छ। यस पटकको चुनाव दुवैका लागि सहज भने छैन।
२०७४ सालको स्थानीय निर्वाचनमा खसेको ७९ हजार २८२ मतमध्ये एमालेका तारा सुब्बा २० हजार ९७५ मत पाएर मेयरमा निर्वाचित भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ पाएका थिए। त्यस्तै, साना दलहरूको गठबन्धनबाट माओवादीका अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका थिए। त्यस वेला तेस्रो बढी मत पाएका प्रमुखका उम्मेदवार बेघा नै अहिले गठबन्धनबाट उपमेयरका उम्मेदवार छन्।
२०७५ साउन १ गते मेयर सुब्बाको निधन भएपछि अर्को वर्ष उपनिर्वाचन भयो। त्यति वेला एमाले र माओवादी एकीकरण भएर नेकपा बनिसकेको थियो। नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राईबीच प्रतिस्पर्धा भयो। उपनिर्वाचनमा खसेको ९२ हजार ८५३ मतमध्ये कांग्रेसका तिलकले २६ हजार ७०९ मत पाएर धरानको मेयरमा निर्वाचित भए भने प्रकाशले २३ हजार ९१ मत मात्र पाए।
२०७४ को स्थानीय निर्वाचनका प्रमुख तीन दलमध्ये कांग्रेस र माओवादी गठबन्धनमा छन्। उपनिर्वाचनमा एमाले र माओवादी एक हुँदा समेत कांग्रेसले तीन हजार ६१८ मत बढी ल्याएको थियो। त्यसमाथि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी गठबन्धनतिरै छ। यसले पनि एमालेको मत घटाउने निश्चित छ। तथापि, धरानमा भने मतको गणितभन्दा केही ‘फ्याक्टर’ ले चुनाव प्रभावित हुने गरेको छ।
धरानमा प्रभाव पार्ने ‘फ्याक्टर’
धरानमा सुकुम्बासीको मतले पनि हारजितमा प्रभाव पार्ने गरेको छ। यहाँ २४ हजार आठ सय सुकुम्बासी मतदाता छन्। चुनावका वेला राजनीतिक दलले सुकुम्बासी फकाउन अनेक हथकन्डा प्रयोग गर्दै आएका छन्। बस्तीमै गएर पैसा बाँड्ने, लालपुर्जाको आश्वासन दिने जस्ता क्रियाकलाप हुँदै आएका छन्।
यस पटक पनि सबै उम्मेदवार सुकुम्बासी बस्तीमा पुगेर भोट मागिरहेका छन्। एमालेकी उम्मेदवार भण्डारीले श्रमिक दिवसका दिन सुकुम्बासी बस्तीमा पुगेर गिटी कुटेको तस्वीर भाइरल बन्यो।
यस पटक सुकुम्बासीले भने लालपुर्जा नदिएसम्म भोट नदिने भन्दै ‘नो लालपुर्जा, नो भोट’ अभियान चलाएका छन्। त्यसैले पनि उनीहरूलाई फकाउन घोषणापत्रमा प्राथमिकता दिनेदेखि बस्तीमै धाउन उम्मेदवार व्यस्त छन्। सुकुम्बासी पनि विभिन्न पार्टीमा आबद्ध छन्, तर चुनावका वेला आर्थिक चलखेलका कारण प्रभावित हुने भएकाले सबैको ध्यान त्यतैतिर छ।
धरानको निर्वाचनमा जातीय ‘फ्याक्टर’ ले पनि प्रभाव पार्ने गरेको छ। आदिवासी जनजाति र त्यसमा पनि राई समुदायको जनसङ्ख्या बढी भएको धरानमा प्रमुख राजनीतिक दलले जनजाति मूलका उम्मेदवारलाई अघि सार्नुको प्रमुख कारण पनि यही हो। धरानका केही प्रतिशत मतदाता दल र उम्मेदवारको क्षमताभन्दा पनि जाति हेरेर भोट हाल्छन्। यस पटकको निर्वाचनमा जातीय फ्याक्टरको बढी फाइदा गठबन्धनका उम्मेदवार किशोर राईलाई हुने देखिन्छ। यो फ्याक्टरले केही प्रतिशत बाहुन क्षेत्रीका मत एमालेले पनि तान्न सक्छ।
यस पटक भने नयाँ र महत्त्वपूर्ण ‘फ्याक्टर’ का रूपमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ देखिएका छन्। धरानको खानेपानी परियोजनामा भ्रष्टाचार भएको भनेर अभियान चलाउँदै आएका र पटक पटक पक्राउ समेत परेका उनी धरानवासीलाई जसरी पनि पर्याप्त पानी खुवाउने नारा सहित मेयरको उम्मेदवार बनेका छन्। राजनीतिक दलका नेता, कार्यकर्ताको व्यवहारले वाक्क भएका मतदातालाई उनले आकर्षित गरिरहेका छन्।
दुवै उम्मेदवार विवादित
यस पटक मेयरका दुवै उम्मेदवार धरानवासीको नजरमा बेदाग छैनन्। धरानको विकासमा भएका अस्तव्यस्ततामा दुवैको नाम जोडिने गर्छ।
गठबन्धनका उम्मेदवार राई स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा धरानमा दलीय संयन्त्रका प्रमुख थिए। उनीमाथि सर्दु जलाधार क्षेत्रको जग्गा हडप्नेहरूसँग मिलेमतो गरेको आरोप लाग्ने गरेको छ। उनकै नेतृत्वमा धरानमा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप शुरू भएको थियो। गोल्डकपको हिसाब पारदर्शी नभएको, खेलाडी र क्लबलाई दिनुपर्ने पैसा नदिएको जस्ता आरोप खेप्दै आएका राई एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष समेत हुन्। एन्फाले धरानमा सञ्चालन गरेको गोल प्रोजेक्ट पनि अहिले अलपत्र छ।
२०५९ सालमा कांग्रेस फुट्दा शेरबहादुर देउवाले गठन गरेको कांग्रेस (प्रजातान्त्रिक) को धरान नगर सभापति बनेका राई पार्टीभित्र भने कमजोर छन्। २०७४ मा धरानको मेयरको टिकट नपाएपछि उनी सुनसरी १ ‘क’ बाट प्रदेश सभाको चुनाव लडेका थिए, तर पराजित भए। गत वर्ष कांग्रेसको धरान नगर सभापतिमा पनि पराजित भए।
यस पटक पनि लामो रस्साकस्सीपछि मात्र उनले टिकट पाएका हुन्। गठबन्धनप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ता उनका लागि चुनौती बनेका छन्। २०७४ को स्थानीय निर्वाचनमा धरानका २० मध्ये कांग्रेसले पाँच वडाध्यक्ष जितेको थियो। धरान-१ का वडाध्यक्ष रोशन अधिकारी र धरान-१४ का वडाध्यक्ष कृष्ण भट्टराई यस पटक कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका छन्। त्यस बाहेक उपनिर्वाचनबाट मेयर निर्वाचित तिलक राईले जनअपेक्षा अनुरूप काम नगर्दाको जवाफ पनि उनले दिनुपरेको छ।
यी चुनौतीसँगै उनले धरानका लागि काम गर्ने नेताको छवि पनि बनाएका छन्। धरान र इटहरीबीच रङ्गशाला विवादमा उनी काठमाडौं पुगेर आन्दोलनमा उत्रिंदा पक्राउ परेका थिए।
त्यस्तै, एमाले उम्मेदवार भण्डारी पनि विवादमुक्त छैनन्। २०७४ सालमा एमालेले मेयर र उपमेयर सहित १४ वटा वडा जितेको थियो। मेयर सुब्बाको निधनपछि उपमेयर भण्डारीले करीब डेढ वर्ष कार्यवाहक मेयरका रूपमा काम गरेकी थिइन्। तर, उनका काम विवादमा आए।
महेन्द्र बहुमुखी क्याम्पसको करोडौं मूल्यको जग्गा हडप्न भूमाफियासँग मिलेमतो गरेको उनीमाथि आरोप लाग्यो। ४० वर्षदेखि कसैले भोगचलन नगरेको क्याम्पसको जग्गामा एकाएक मोही दाबी गर्ने व्यक्ति निस्किएपछि त्यसका लागि सर्जमिन गर्न उनले दबाब दिएको धरान-११ का वडाध्यक्ष बाबुलाल लामाले त्यति वेला आरोप लगाएका थिए।
त्यस बाहेक नगरपालिकामा कार्यकर्ता भर्ती गरेको, अनावश्यक भ्रमणमा खर्च गरेको, नगरपालिकाका कर्मचारीलाई घरको काममा लगाएको, निजी स्वास्थ्य र शिक्षाका क्षेत्रमा संलग्न भएर नगरको स्वास्थ्य शिक्षालाई बेवास्ता गरेको जस्ता आरोप लागेका थिए।
विद्यार्थी राजनीतिबाट आएकी उनी एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय प्रतिनिधि निर्वाचित भएकी थिइन्। गत राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्। यस पटक पूर्व मेयर तथा राजनीतिक रूपमा आफूभन्दा अग्रजलाई पछि पारेर टिकट पाएकी भण्डारीका लागि एमालेभित्रको असन्तुष्टि पनि चुनौतीका रूपमा रहेको छ।
एमालेबाट मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चा पाएका पूर्व मेयर मनोजकुमार मेन्याङ्वोले टिकट नपाएपछि सामाजिक सञ्जाल फेसबूक मार्फत असन्तुष्टि पोखे। अहिले पनि एमालेका कतिपय कार्यकर्ता मेन्याङ्वोले टिकट नपाएकोमा असन्तुष्टि जनाइरहेका छन्।
त्यस्तै, गत निर्वाचनमा एमालेबाट धरान-९ को वडाध्यक्षमा निर्वाचित रत्नबहादुर कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले भण्डारीको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यस बाहेक एमाले विभाजनको असर पनि छ। एमालेमा ‘दश भाइ’ का नामले परिचित नेताका पक्षका थुप्रै कार्यकर्ता छन्। उनीहरू पनि सन्तुष्ट छैनन्।
यी चुनौतीबीच भण्डारीलाई युवा नेत्रीका रूपमा हेरिएको छ। पार्टी केन्द्रमा पहुँच भएकाले योजना ल्याउन सक्ने र काम गर्न सक्ने उम्मेदवारका रूपमा चर्चा भइरहेको छ।
गत पाँच वर्षमा एमाले र कांग्रेसले पालैपालो उपमहानगरको नेतृत्व गरेका छन्। तर, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुरामा काम गर्न नसकेको गुनासो छ। जसलाई स्वतन्त्र उम्मेदवार साम्पाङले चुनावी नारा बनाएका छन्।
विरासत जोगाउने चुनौती
धरान २०१७ मंसीर ६ गते नगरपालिका घोषणा भएको थियो। त्यससँगै भएको निर्वाचनमा केदारनाथ खनाल मेयरमा विजयी भए। उनीपछि पञ्चायती व्यवस्थामा गोविन्द मोक्तान, कृष्णकुमार राई र बम देवान मेयर बने। उनीहरू सबै कम्युनिष्ट थिए।
प्रजातन्त्र पुन:स्थापनापछि २०४९ मा भएको निर्वाचनमा एमालेका ध्यानबहादुर राई मेयर बने। त्यसपछि पनि २०५४ को निर्वाचनमा एमालेकै मनोजकुमार मेन्याङ्वोले जिते। राजाको सक्रिय शासनमा कुमारबहादुर कार्की र केपी पालुङ्वा मेयर बनेका थिए।
२०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बा मेयर बने। मेयर बनेको एक वर्षमै उनको निधन भयो । उपनिर्वाचनमा कांग्रेसका तिलक राईले ‘लालकिल्ला’ भत्काए। यस पटक एमाले पुरानो विरासत फर्काउने र कांग्रेस फेरि जित निकाल्ने प्रतिस्पर्धामा छन्।
२०७४ को निर्वाचनभन्दा यस पटक २१ हजार थपिएर एक लाख ३२४ मतदाता पुगेका छन्। नयाँ मतदाताले पनि हारजितमा प्रभाव पार्ने देखिन्छ। सदा झैं यस पटकको चुनावमा पनि धरान ‘लेफ्ट’ कि ‘राइट्’ भन्ने अड्कलबाजी लगाउन थालिएको छ।