वर्षायामको २०० मेगावाट विद्युत् भारतमा बेच्न टेन्डर आह्वान
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर आह्वान गरेको छ।
प्राधिकरणले शुक्रबार टेन्डर आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव मागेको हो। प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको विद्युत् पाँच महीना अर्थात् २०७९ असार १७ देखि कात्तिक २९ गतेसम्म बिक्री गर्नेछ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग मार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनी लगायतले विद्युत् खरीदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
“भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धा मार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेन्डर आह्वान गरेका हौं,” कार्यकारी निर्देशक घिसिङले भने। बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिक्री गर्ने र टेन्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने उनले बताए।
नेपालबाट विद्युत् खरीद गर्न इच्छुक कम्पनीले आगामी जेठ १३ गते मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ। इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरीदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ। कम्पनीले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रति महीना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्नेछ।
भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत निर्यात हुनेछ।
नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।