‘साउन्ड’ संसारका किशोर
कुन वेला रेकर्ड गरिएको आवाज कुन फिल्मका लागि आवश्यक पर्छ भन्ने थाहा हुँदैन। त्यसैले त साउन्ड इन्जिनीयर किशोर आचार्य भीडभाड होस् वा शान्त स्थान‚ जहाँ पनि रेकर्डर बोकेरै हिंड्छन्।
तपाईंको खल्तीमा प्रायः नछुट्ने वस्तु के हो? मोबाइल, पैसा। साउन्ड इन्जिनीयर किशोर आचार्यको खल्तीमा भने ‘रेकर्डर’ छुट्दैन। उनी बिहानदेखि साँझसम्म थुप्रै मानिस भेट्छन्, एक बिन्दुमा पुगेपछि ती सबै छुटिन्छन्। तर, उनी जहाँ पुग्छन्, सँगै हुन्छ रेकर्डर। जसलाई किशोर ‘नछुट्ने साथी’ को संज्ञा दिन्छन्।
“कुन वेला रेकर्ड गरिएको आवाज कुन फिल्मका लागि आवश्यक हुन्छ भन्नै सकिदैन, त्यसैले भीडभाड होस् वा शान्त स्थानमा म रेकर्डर छुटाउँदिन‚” उनी थप प्रष्ट्याउँछन्, “पत्रकारको कलम जस्तै अडियोमा काम गर्नेको हतियार नै रेकर्डर हो।”
रेकर्डरसँगै लिएर हिंड्ने उनको यो बानी भारतको आसामस्थित डा. भुपेन हजारिका रिजनल गभर्मेन्ट फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूटमा अडियोग्राफी र साउन्ड इन्जिनीयरिङमा स्नातक अध्ययन गर्दादेखिकै हो। उनले आठ वर्षअघि त्यहाँ अध्ययन गरेका थिए। त्यहाँका प्राध्यापकहरूले ‘जुनसुकै वेला लिइएको अडियो कालजयी हुन्छ’ भन्थे। त्यसैले उनी जहाँ गए पनि रेकर्डर बोक्छन्। कहिले शहरको कोलाहल त कहिले गाउँको सन्नाटामा पुग्छन्। त्यति वेला जुन ध्वनि प्रिय लाग्छ, रेकर्ड गरिहाल्छन्।
यस बानीले किशोरलाई फाइदा पनि पुगेको छ। उनले भने, “यसो गर्दा कहिले तत्काललाई त कहिले भविष्यका लागि काम लाग्ने अडियो आउँछ।” ६ वर्षअघि रुपन्देहीको बुटवलमा आफन्तको विवाहमा पुगेका थिए। विवाहमा बजाइएको पञ्चेबाजा र घरगाउँका बूढापाकाको गफगाफ रेकर्ड गरे। त्यो अडियो चार वर्षपछि ऐन झ्यालको पुतली नामक फिचर फिल्मको अन्तिम एक मिनेटको दृश्यमा प्रयोग गरिएको उनले सुनाए। उनले भने, “त्यो अन्तिम मिनेटको अडियोले फिल्ममा जीवन्तता थपेको छ।”
किशोर वेलावेला योजना सहित रेकर्डर बोकेर गाउँ पुग्छन्। केही महीनाअघि भोजपुर गएका थिए। गाउँ आएको बाटो नामक फिल्मको ध्वनि संयोजनका लागि उनी त्यहाँ पुगेका थिए। “तीन दिन बसेर त्यहाँको रहनसहन, हावापानी, बोलीचाली, संस्कृति बुझेर फर्किएँ,” किशोरले भने, “यो तरीकाले काम गर्दा फिल्ममा ‘एम्बियन्स साउन्ड’ दिन सजिलो हुन्छ। पछि साउन्डमा काम गर्दा भाव पनि मर्दैन।”
उनका अनुसार, एम्बियन्स साउन्डको अर्थ समय बुझाउने ध्वनि हो। यसलाई अझ प्रष्ट्याउँदै भने, “सुनसान गल्लीमा कुकुर भुकिरहेको आवाजले मध्यरातको समय बुझाउँछ। त्यो एम्बियन्स साउन्ड हो।” परिवेश अनुसारको एम्बियन्स साउन्ड भए डायलग र दृश्यहरूमा राख्न सजिलो हुने उनले बताए।
नेपाली फिल्ममा साउन्ड निकै कमजोर रहेको किशोरको बुझाइ छ। १०० वटा फिल्म निर्माण हुँदा पाँचदेखि ६ वटामा मात्र ‘सिङ्क साउन्ड’ हुने गर्छ। साउन्डको उच्चतम गुणस्तर सिङ्क साउन्डमा हुने किशोरको दाबी छ। त्यसैले सिङ्क साउन्ड प्रयोग गर्ने फिल्ममा प्रायः साउन्ड डिजाइनरको काम गर्दै आएको उनले बताए।
“सिङ्क साउन्डको प्रयोग कम हुँदा नेपाली चलचित्रको अडियो अन्तर्राष्ट्रिय स्तरको जस्तो हुन दिएको छैन,” किशोरले भने, “नेपालमा सिङ्क साउन्ड गर्नै नसकिने भन्ने गलत प्रचार नेपाली फिल्म क्षेत्रमा फैलिएको छ।”
सिङ्क साउन्डलाई प्रोडक्शन साउन्ड पनि भनिन्छ। यसको अर्थ सुटिङमा पात्रहरूले बोलेका डायलग र त्यहाँको ‘एम्बियन्स’ अडियो नै फिल्ममा राखिन्छ। सिङ्क साउन्ड गरेपछि पात्रहरूले पुनः डायलग रेकर्ड गर्नु पर्दैन। सुटिङमा जस्तो बोल्यो त्यही नै फिल्ममा राखिन्छ। यसका लागि पात्रहरूले लगाएका विभिन्न माइक र अन्य प्राविधिक कुरा दृश्यबाट लुकाउनु चुनौती हुने किशोर बताउँछन्।
डबिङ गर्दा पनि समस्या हुने गरेको उनले देखेका छन्। “साथीहरूले आठ वर्षअघि एउटा फिल्म बनाए। फिल्ममा बालबालिकाको रोल थियो‚” किशोरले सुनाए‚ “डबिङ गर्ने भन्दाभन्दै यतिका समय बित्यो। ती बालबालिका पनि अहिले ठूला भइसके। सुटिङको वेलाकै भाइब्स् ल्याउन नसकेर फिल्म रोकिएको छ।” यस्तो झन्झटमा फस्नुभन्दा सिङ्क साउन्ड प्रयोग गर्नु उपयुक्त हुने उनको सुझाव छ।
अडियोको गुणस्तरमा बेवास्ता
फिल्म उत्कृष्ट हुन अडियो र भिडियोको राम्रो संयोजन चाहिन्छ। अडियोको सुन्दरता भने सिङ्क साउन्डमा मात्र पाइने किशोर बताउँछन्।
तर, नेपालका फिल्ममेकरले सिङ्क साउन्डलाई प्राथमिकतामा राख्दैनन्। भिडिओमा जति लगानी हुन्छ अडियोमा हुँदैन। जसका कारण फिल्मको गुणस्तर नबढेको किशोरको बुझाइ छ।
उनका अनुसार, नेपाली फिल्ममेकरमा सिङ्क साउन्डबारे बुझाइ कम छ। यस्तै, साउन्डमा काम गर्ने जनशक्ति पनि कम छ। “दक्ष जनशक्तिको कमीले वर्षमा २० वटासम्म फिल्म एउटै साउन्ड डिजाइनरले हेर्नुपर्ने बाध्यता छ,” किशोर भन्छन्, “जसका कारण गुणस्तर खस्किने सम्भावना छ।”
नेपालका केही फिचर फिल्ममा सिङ्क साउन्ड प्रयोग भएको छ। सिङ्क साउन्ड प्रयोग भएको पहिलो नेपाली फिल्म कागबेनी हो। यो सन् २००७ मा निर्माण भएको थियो। त्यसपछि ह्वाइट सन, कालो पोथी लगायत फिल्ममा प्रयोग गरिएको किशोरले जानकारी दिए।
विदेशमा फिल्मबारे अध्ययन गरेर आएका निर्देशक या अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी बनाइएको नेपाली फिल्ममा सिङ्क साउन्ड प्रयोग गरिन्छ। विदेशमा अध्ययन गरेर आएकाहरूले डबिङभन्दा सिङ्क राम्रो हुन्छ भनी बुझेको किशोर बताउँछन्। “विदेशमा पढेर आएका निर्देशकले डबिङभन्दा सिङ्क गुणवान् हुने बुझेका हुन्छन्,” उनले भने, “हलिउडमा शतप्रतिशत फिल्ममा सिङ्क साउन्ड हुन्छ।”
निर्देशक दीपक रौनियारको सर्ट फिल्म फोर नाइट्सले बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाल) मा चर्चा बटुल्यो। साउन्डमा गरेको कामले जीवन्तता दिएर धेरै चर्चा बटुलेको दीपक बताउँछन्। किशोरले सेतो सूर्यमा दीपकसँगै काम गरिसकेका छन्। उनी जस्ता निर्देशक फिल्म क्षेत्रमा बढ्दै गए सिङ्क साउन्डको प्रयोग पनि बढ्ने किशोर बताउँछन्। उनी निर्देशक इलम दीक्षितको रेड मनसुन र बाबु, मीन भामको कालो पोथी र दीपक रौनियारको हाइवे र सेतो सूर्यमा भएको साउन्डलाई उत्कृष्ट मान्छन्।
किशोरले फिचर, डकुमेन्ट्री र थिएटर गरी करीब ८० वटा फिल्ममा सिङ्क साउन्ड सहितको साउन्ड डिजाइनरको काम गरिसकेका छन्। उनले यस वर्ष सानो मन फिल्मका लागि डीसी नेपालले बेस्ट साउन्ड एडिटरको उपाधि हात पारे। यति मात्र होइन, अमेरिकामा रहेको मोसन पिक्चर एन्ड साउन्ड एडिटरको सदस्यता पाउने उनी पहिलो नेपाली पनि भएका छन्। यो साउन्ड एडिटर्सहरूको प्रतिष्ठित संस्था हो।
उनले नेशनल जियोग्राफीका डकुमेन्ट्री‚ नेटफ्लिक्सको डकुमेन्ट्री एडिटिङमा सिङ्क साउन्डमा काम गरेका छन्। यहाँ काम गरेको अनुभव प्रिय लाग्ने किशोर बताउँछन्।
मिहिनेतले दिएको सफलता
प्रायः साउन्ड डिजाइनरको सपना हुन्छ, मोसन पिक्चर एन्ड साउन्ड एडिटरको सदस्यता लिने। किशोरसँग पनि यही सपना थियो। त्यसैले लामो समयदेखि सदस्यता पाउन काममा मिहनेत गरिरहेका थिए। त्यही मिहिनेतले नै सपना पूरा गरिदियो। उनले एक महीनाअघि सदस्यता प्राप्त गरेका छन्।
उक्त संस्थामा ओस्कर अवार्ड जितेका सिनेमामा साउन्ड डिजाइनरका रूपमा काम गरेका व्यक्तिहरूको बाहुल्य छ। हलिउड, बलिउड, यूरोप र विश्वका चर्चित फिल्मका साउन्ड डिजाइनरका रूपमा काम गर्नेहरू सदस्य हुन्छन्।
नौ वर्षदेखि साउन्ड डिजाइनरका रूपमा काम गर्दै आएका किशोरलाई उक्त संस्थाको सदस्यता लिन प्राविधिक समस्या परेको थियो। सदस्यता पाउन राम्रो कामले मात्र पुगेन, संस्थामा सक्रिय दुई सदस्यको सिफारिश आवश्यक भयो। यही आवश्यकता पूरा गरिदिए‚ बलिउडका साउन्ड डिजाइनर वेलन फोन्सेका र करान्जीत सिंहले। उनीहरूले किशोरको काम मन पराएका थिए। आवश्यक प्रक्रिया पूरा गरेर आवेदन दिएपछि बोर्डले उनको काम जाँच गर्यो। उनले सदस्यता प्राप्त गरे। यससँगै उनले अब साउन्डमा थप काम गर्न छात्रवृत्ति र विभिन्न तालीम पाउने भएका छन्।
विश्वको प्रतिष्ठित संस्थाको सदस्यता पाए पनि गोजीमा रेकर्डर बोक्न चाहिं नछाड्ने बताउँछन् किशोर। उनले हाँस्दै भने, “संसारको जस्तोसुकै पदक पाए पनि ‘पकेट रेकर्डर’ बोक्न चाहिं छाड्दिनँ।”
फिल्ममा साउन्डको महत्त्व कति हुन्छ भन्ने फिल्ममेकरले बुझ्न त अत्यावश्यक छँदै छ‚ साउन्डमा काम गर्ने जनशक्ति उत्पादन पनि महत्त्वपूर्ण रहेको बताउने किशोरले त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा फिल्म अध्ययन विषय अन्तर्गत चार वर्षे ‘अडियोग्राफी एन्ड साउन्ड इन्जिनीयरिङ’ विषयको पाठ्यक्रम बनाउने कमिटीको सदस्यका रूपमा पनि काम गरेका छन्। पाठ्यक्रमलाई सक्दो उपयोगी बनाउन आफूले भूमिका खेलेको उनले बताए।
उनले फिल्मबारे पढाइ हुने ओस्कार इन्टरनेशनल कलेजमा अध्यापन गरिसकेका छन्। पछिल्लो समय ब्रिटिश काउन्सिलको ‘क्यामेरा सिका प्रोजेक्ट’ मा फिल्ममेकिङ मेन्टरका रूपमा काम गरिरहेका छन्। नेपालका कलेजमा साउन्डबारे पठनपाठन गराउन आवश्यक प्रविधिको कमी रहेको किशोरले औंलाए। विद्यार्थी झनै कम छन्।
चुनौती कहाँ छ?
सिङ्क साउन्ड गर्न केही कठिन हुने किशोर बताउँछन्। प्रि–प्रोडक्शनमा पर्याप्त तयारी नगरे झन् कठिन हुन्छ। तर, नेपाली फिल्ममा सिङ्क साउन्ड गर्न नसकिने अवस्था भने नरहेको उनको भनाइ छ। उनले भने‚ “त्यसका चुनौतीबारे पर्याप्त होमवर्क गरे समस्या हुँदैन।”
उनी फिल्मको गुणस्तर बढाउन सिङ्क साउन्डमा जानुको विकल्प नरहेको बताउँछन्। फिल्ममेकरलाई फिल्ममा सिङ्क साउन्ड नै चाहिन्छ भन्ने जानकारी हुनैपर्ने किशोरको भनाइ छ। सुटिङ सेटमा आएको ‘फिल’ कलाकारले जति मिहिनेत गरे पनि स्टुडियोमा दिन नसक्ने भएकाले पनि ठूला फिल्म उद्योग सिङ्क साउन्डमा आकर्षित भएको उनको भनाइ छ। एउटा फिल्म सकेर अर्कै फिल्मको क्यारेक्टरमा प्रवेश गरिसकेपछि डबिङ गर्दा पुरानो क्यारेक्टरलाई न्याय गर्नु निकै कठिन भएको उनले देखेका छन्। यो नै नेपाली फिल्मको कमजोर पक्ष रहेको किशोरको ठम्याइ छ।
अर्को कुरा, नेपालमा डबिङलाई हल्का रूपमा लिने गरिएको छ। “विदेशमा डबिङका लागि शुरूकै जति अर्को एग्रिमेन्ट गर्छन्‚” किशोर भन्छन्‚ “तर, हाम्रोमा डबिङलाई सामान्य रूपमा लिइन्छ। दुईदेखि तीन दिनमा डबिङ सकाउँछन्।” यसरी हल्का तरीकाले सिनेमा बनाउने चलनले नेपाली फिल्म क्षेत्रले फड्को मार्न नसकेको उनको बुझाइ छ।
नेपालमा कम बजेट र सानो प्रोडक्शन डिजाइनमा फिल्म बन्नु पनि समस्या रहेको छ। सानो प्रोडक्शन डिजाइनमा काम गर्नुपर्दा चाहेर पनि धेरै काम गर्न नसकिने फिल्ममेकरहरूको गुनासो छ।
यस्तै‚ नेपाली फिल्म ‘फोली साउन्ड’ मा पनि कमजोर छ। “पात्रलाई रिस उठेको छ भने उसले भित्तामा हात बजार्दा निस्किएको साउन्डलाई फोली साउन्ड भनिन्छ,” किशोरले प्रष्ट्याए, “नेपालमा फोली साउन्ड स्टुडियो पनि कम छन्। भएकाहरू पनि काममा गम्भीर छैनन्।” यही कमीलाई थोरै भए पनि हटाउन स्टुडियो निर्माण गरिरहेको उनले सुनाए। ‘रोल साउन्ड नेपाल’ नामक उनको स्टुडियोमा साउन्ड डिजाइन, फोली साउन्डको काम र सिङ्क साउन्डको सर्ट कोर्ष अध्यापन हुने उनले बताए।
किशोर अहिले दीपक रौनियारको फिल्म द स्काई इज माइनमा सिङ साउन्डको तयारीमा जुटिसकेका छन्। यो फिल्म ओस्कार अवार्डमा नोमिनेशन पुग्छ भन्ने उनलाई लागेको छ। त्यो आत्मविश्वास भनेको नेपालका मौलिक कथामा सिङ्क साउन्ड भरिनु।