केशव स्थापितसँग आयोगले फेरि माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितसँग फेरि स्पष्टीकरण मागेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। प्रतिस्पर्धी उम्मेदवारका विषयमा आचारसंहिता विपरीत बोलेकाले २४ घण्टे स्पष्टीकरण मागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
स्थापित नेकपा (एमाले) का तर्फबाट महानगरमा मेयरको उम्मेदवार बनेका छन्। उनले स्वतन्त्र उम्मेदवार बालेन शाहका विषयमा आचारसंहिता विपरीत बोलेको आयोगले जनाएको छ। स्थापितले शाहको जातको विषयमा टिप्पणी गरेका थिए।
यसअघि पनि स्थापितसँग आयोगले स्पष्टीकरण मागेको थियो। काठमाडौंको एक कलेजमा आयोजित छलफल कार्यक्रममा उनले प्रश्न गर्ने युवतीसँग अपशब्द बोलेको भन्दै आयोगले स्पष्टीकरण मागेको थियो।
अहिलेसम्म आयोगले विभिन्न राजनीतिक दलका ३७ जनासँग स्पष्टीकरण मागिसकेको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गरेको छ।