पेन्ट्सको आयात रोक्न व्यवसायीको माग
विदेशबाट पेन्ट्सको आयात रोक्न व्यवसायीले माग गरेका छन्।
नेपाल पेन्ट्स उद्योग संघले पेन्ट्सको कच्चा पदार्थको आयातमा भन्सार शुल्क घटाउन पनि माग गरेको छ। तयारी उत्पादन र कच्चा पदार्थको एचएसएन कोड एउटै हुँदा समस्या झेल्नु परिरहेको संघका अध्यक्ष विश्वप्रकाश साःखले बताए। यसको कोड नम्बर सच्याउनुपर्ने उनको भनाइ छ।
संघले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले कच्चा पदार्थको आयातमा अत्यधिक कर लगाउँदा उद्योग समस्यामा परेकाे जनाएको छ। कच्चा पदार्थ र तयारी पेन्ट्सलाई एउटै समूहमा राख्दा ३० प्रतिशत भन्सार तिर्नु परिरहेको अध्यक्ष साःखले बताए।
पेन्ट्सको आयातमा रोक लगाउनुपर्ने उनको माग छ। उनले भने, “यदि हामी पेन्ट्समा आत्मनिर्भर छौं भने विदेशबाट तयारी पेन्ट्स किन मगाउने त? स्वदेशी उद्योगलाई किन प्रोत्साहन नगर्ने?”
संघका अनुसार, अहिले नेपालमा ५० भन्दा बढी पेन्ट्स उद्योग छन्। नेपालमा २० अर्बको पेन्ट्सको व्यापार हुने गरेको संघले जनाएको छ। सरकारले कच्चा पदार्थको आयातमा छूट दिएर नेपाली उद्योगलाई प्रोत्साहन गरेमा आत्मनिर्भर बन्न सकिने उनको भनाइ थियो।