कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित
स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका सबै उम्मेदवारलाई नेपाली कांग्रेसले पाँच वर्षका लागि निष्कासित गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी बागी उम्मेदवार, उनीहरूका प्रस्तावक तथा समर्थक स्वतः निष्कासित भएको जनाएका छन्। उनले भनेका छन्, ‘पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ।’
कांग्रेसले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न आजसम्मको समय दिएको थियो। उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट स्वतः निष्कासन गरिएको जानकारी दिइएको हो।
यससँगै पार्टीका उम्मेदवार विरुद्ध प्रचार गर्नेहरूलाई पनि कारबाही गरिने जनाएको छ। त्यस्ता व्यक्तिलाई जिल्ला कार्यसमितिले कारबाही गर्न सक्ने भएकाले पार्टीको पक्षमा लाग्न सचेत गराएको छ।
कांग्रेसले भनेको छ, ‘पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरीत कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय समेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल सदस्यताबाट निलम्बन गर्न सक्ने भएकाले, पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन पार्टीका सम्पूर्ण सदस्यहरूलाई यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ।’