गठबन्धनबारे कांग्रेसभित्र समस्या देखिएको छ: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरका मेयरका उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले गठबन्धनको मर्म र सिद्धान्तलाई इमानदारीका साथ पालना गर्न आग्रह गरे। “नेपाली कांग्रेसभित्र केही समस्या देखिएको छ,” मेयरका उम्मेदवार पौडेललाई लक्षित गर्दै नेपालले भने, “राजनीतिलाई निष्ठा र आदर्शको विषय बनाउनुभएको छ भने वक्तव्य दिएर उम्मेदवारी फिर्ता लिनुस्।”
भरतपुरमा गठबन्धनबाट माओवादी नेत्री रणु दाहाल मेयरको उम्मेदवार बनेकी छन्। गठबन्धनमै रहेको कांग्रेसबाट विद्रोह गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का नेता विजय सुवेदी मेयरको उम्मेदवार छन्।
आमसभालाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे।
त्यस्तै, आमसभामा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धा ओली प्रवृत्तिसँग भएकाले एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। “नेपालको विकासलाई खलबल्याउन केपी ओली आएका छन्। नेपाली कांग्रेसको प्रतिवाद एमालेसँग हो। एमाले हाम्रो प्रतिद्वन्द्वी हो,” पौडेलले भने।
माओवादी र गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारलाई सघाउन उनले कार्यकर्तालाई आह्वान गरे। उनले बिहीबार बिहान मेयरमा उम्मेदवार दिएका जगन्नाथ पौडेललाई पनि भेटेका थिए।