हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने बताएका छन्।
पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै दाहालले हँसिया हथौडामा भोट हाल्न आग्रह गरे। भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छन्। उनी अध्यक्ष दाहालकी छोरी हुन्।
आमसभालाई सम्बोधन गर्दै दाहालले भने, “‘अहिले पनि यो गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता हो। अहिलेको गठबन्धनमा हँसिया हथौडामा भोट हालिएन भने देश दुर्घटनामा जान सक्छ।”
भरतपुरमा गठबन्धनका उम्मेदवारले जितेमा लामो समय सहकार्य हुने उनको भनाइ थियो। “जिताउनुभयो भने यो गठबन्धनलाई २० वर्ष लाने मेरो प्रतिबद्धता हुन्छ,” दाहालले भने, “नेतालाई मात्र नहेर्नुस्। गठबन्धन जोगाउने कुरा जिल्लाका नेता र कार्यकर्ताको हातमा पनि हुन्छ।”
गठबन्धन बनेको दिनदेखि तोड्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो। “निकै ठूलो मूल्य चुकाएर आएको छु। ज्ञान प्राप्त गरेर आएको छु, ममाथि शङ्का नगर्नुस्,” दाहालले भने।
गत चुनावको नतीजाले एमालेसँग गठबन्धन गर्न बाध्य पारेको उनको भनाइ थियो। “त्यति वेला रूख र हँसिया हथौंडा चिह्नबारे नकारात्मक टिप्पणी गरेको पनि मैले सुनें, रूखवालाले हँसिया हथौडामा भोट हाल्न धेरै नै गाह्रो भएको देखें। गठबन्धन गरेर व्यवहारमा आउँदा सहज देखिनँ, मेयरकै चुनाव पनि हो,” गत चुनावको प्रसङ्ग निकाल्दै दाहालले भने, “त्यसले चिन्तित तुल्यायो र वामपन्थी मिल्दा पो देश विकास गर्न सजिल्लो हुन्छ भनेर गएको हुँ। लुकाएर र छिपाएर गएको होइन।”
उनले रेणुलाई मत दिन आग्रह गरे। एनले भने, “प्रचण्डलाई ऊर्जा दिन चाहनुहुन्छ कि टेन्सन दिन चाहनुहुन्छ, त्यो तपाईंहरूकै हातमा छ। म जनताको फैसला हेर्न चाहन्छु।”