‘माओवादी द्वन्द्वबारे नयाँ पुस्तालाई पढाउनुपर्छ, देखाउनुपर्छ’
‘यो नाटकले गरेको प्रश्न जहाँसम्म पुग्नुपर्ने थियो, त्यहाँसम्म पुगेन। त्यसैले दर्शकबाट राम्रो प्रतिक्रिया आए पनि त्यति धेरै खुशी हुन सकेको छैन।’
रङ्गकर्मी सुलक्षण भारतीको लेखन र निर्देशनमा रहेको नाटक खतको सेट डिजाइनलाई लिएर चर्चा भइरहेको छ। सिनामंगलस्थित पुरानो नाटकघरमा खत हेर्दै गर्दा सशस्त्र द्वन्द्वको साक्षी बनिरहेको भान हुन्छ। गोली चलेको जस्तै आवाज, बारुदको गन्ध नाकमै ठोक्किन्छ।
नाटकको सेट डिजाइनमा नयाँ प्रयोग गरेका निर्देशक भारती आफूलाई मन परेको कथा देखाउन अत्यधिक प्रयोग गर्नकै लागि आफ्नै थियटर खोलेको बताउँछन्। लेखन, निर्देशन र अभिनय गर्ने थोरै रङ्गकर्मीमध्ये पर्ने उनका बिलगेट्स पण्डित, मिल्क टी, बोक्सीको घर, सलेदो, लाटीको छोरो, तीनकुने जस्ता नाटक चर्चित छन्।
पछिल्लो दर्शकले रुचाइरहेको नाटक खतसँग नाट्यकर्ममा केन्द्रित भएर निर्देशक भारतीसँग हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानीः
यो नाटकको सेट डिजाइनलाई लिएर धेरै चर्चा छ। कसरी यस्तो परिकल्पना गर्नुभयो?
मैले देशकाे अवस्थालाई सेटमा बिम्बात्मक रूपमा प्रस्तुत गर्न खोजेको हुँ। यो सेट बनाउन थियटरका भर्याङ र कन्ट्रोल रुम भत्काएका छौं। नाटक सकिएपछि फेरि पुनर्निर्माण गर्नुपर्छ। नाटकघर किन विनिर्माण गरेको भन्दा सेटमा देश देखाउनु थियो।
यो सशस्त्र द्वन्द्वको कथा भए पनि दर्शकलाई चीन र भारतको चेपुवामा परेको नेपाल जस्तो पनि महशुस हुँदो रहेछ। त्यस्तै देखाउन खोज्नुभएको हो?
नाटकघरको बीचमा दर्शकलाई राखेर अगाडि र पछाडि ठूला पहाड बनाइएका छन्। नेपाल भनेको यी दुई पहाडबीचको घर भयो। दुई पहाड चीन र भारत मान्नुस्। देशलाई बङ्करको बीचमा राखिदिएका छौं।
विगतको सशस्त्र द्वन्द्व मात्र देखाएका छैनौं, भविष्यमा यस्तो पनि हुन सक्छ भनेर सचेत गराएका छौं। त्यसका लागि राजनीतिक र आर्थिक रूपमा तयार हुनुपर्छ भनेका छौं। दुई पहाडको बीचमा पिसिने आम जनता नै हुन् भन्ने कुरा साङ्केतिक रूपमा देखाएका छौं। अहिलेको परिस्थिति हेर्दा पनि छिमेकी दुई देशको द्वन्द्वमा नेपाल नफसोस् भनेर देखाउन खोजिएको हो।
द्वन्द्वको समयका सेना र माओवादी लडाकूको चरित्रलाई फरक ढङ्गले प्रस्तुत गरिएको छ। एक अर्काप्रति सहानुभूति प्रकट गरिएको देखाइएकाे छ। यस्तो विचार कसरी आयो?
नाटकमा देखाएको कथा धेरै हदसम्म यथार्थ हो। आख्यान पनि लेखकले वास्तविकतासँग नजिक भएर नै लेख्छ। नाटक लेख्दै गर्दा आफूलाई जनता भएर हेरेको थिएँ। त्यस अर्थमा मेरा लागि न नेपाली सेना गलत थियो, न त 'जनमुक्ति सेना' नै। उनीहरूले मैले चाहेको जस्तै देश चाहेका थिए। मैले जस्तै उनीहरूले पनि आफू र भावी सन्ततिको भविष्य हेरेका थिए।
आफ्नो देश विकास होस् भनेर नै उनीहरू लडेका थिए। मैले नाटक मार्फत मैदानमा लड्नेहरूभन्दा उनीहरूलाई निर्देशन गर्ने व्यक्ति गलत थिए भन्ने देखाउन खोजेको हुँ।
फेरि कला, साहित्यमा सशस्त्र द्वन्द्वको कथा आउन थालेको छ। सशस्त्र द्वन्द्व नदेखेको वा नभोगेको नयाँ पुस्तालाई किन देखाउन आवश्यक छ?
हरेक १० वर्षमा ‘जेनेरेशन ग्याप’ हुन्छ भनिन्छ। सशस्त्र द्वन्द्व सकिएको पनि डेढ दशक भइसक्यो। हाम्रा पाठ्यपुस्तकमा यस्ता विषय अटाएका छैनन्। द्वन्द्वमा जनताले कति दु:ख पाए, द्वन्द्व कति डरलाग्दो थियो, द्वन्द्वले कति मानिस कसरी मरे, अब किन द्वन्द्व हुनु हुँदैन भनेर नयाँ पुस्तालाई बुझाउन जरुरी छ।
द्वन्द्वले पीडा दिन्छ, धेरै मानिस मर्छन्। यसको आर्थिक, सामाजिक क्षति ठूलो हुन्छ। त्यसैले बम र बारुदले मात्र क्रान्ति हुँदैन भन्ने शिक्षा नयाँ पुस्तालाई दिन जरुरी छ। बन्दूकले जुन बीभत्स परिस्थिति निम्त्याउँछ, त्यो कसैलाई भोग्न मन लाग्दैन। त्यसैले पनि द्वन्द्वबारे पढाइनुपर्छ, देखाइनुपर्छ।
यो नाटकमा अधिकांश नयाँ कलाकार छन्। उनीहरूलाई पात्रबारे महशुस गराउन कति गाह्रो भयो?
म अभिनयको प्रशिक्षक पनि हुँ। नयाँ कलाकारसँग काम गर्न मन लाग्छ। नयाँसँग काम गर्दा धेरै कुरा सिक्न पाइन्छ। मलाई उनीहरूसँग काम गर्न कुनै अप्ठ्यारो लागेन। अभिनय सिकाउने पेशा भएकाले रमाइलो नै लाग्यो। फेरि अभिनय सिक्न आउनेहरू नबुझेका पनि हुँदैनन्। उनीहरूले समाज बुझेका छन्।
नाटकमा के सशस्त्र द्वन्द्व जायज थियो त भन्ने किसिमले प्रश्न गरिएको छ नि!
जब माओवादी सत्तामा आयो, धेरैलाई केही गर्छ भन्ने आशा जागेको थियो। तर, माओवादीले भनेका कुरा गरेन। अन्य पार्टीहरू जस्तै सत्ताको तालमेलमा लाग्यो। त्यति वेलै यो प्रश्न गर्नुपर्थ्यो।
प्रसङ्ग बदलौं, एउटा सर्जकका लागि आफ्नै नाटकघर हुनुको फाइदा वा बेफाइदा के हुँदो रहेछ?
जहाँबाट जति कमाए पनि यहीं खर्च हुन्छ, बेफाइदा यही एउटा हो। रङ्गमञ्चलाई सरकारले वास्ता गर्दैन, म पार्टीको झण्डा बोकेर हिंड्दिनँ। कति कलाकारले बोकेर हिंड्लान् पनि। उनीहरूलाई सरकारले सहयोग पनि गर्ला, अरूलाई गर्दैन।
फाइदा भनेको आफूलाई मन लागेको कथा भन्न पाइएको छ। आफ्नो तरीकाले काम गर्न पाइएको छ। अरूको थियटरमा यही नाटक गर्नुपरेको भए यो सेटिङ गर्न पाइँदैनथ्यो। एउटा नाटकका लागि थियटर भत्काउन असम्भव हुन्थ्यो।
मन लागेको काम गर्न पाइए पनि आर्थिक हिसाबले एकदम गाह्रो छ। यस्तै हो भने यो थियटर चल्ला र भन्ने जस्तो लाग्न थालिसक्यो। थियटर बनाउँदा लागेको ऋणको ब्याजले थिचिरहेको छ।
अभिनयको कक्षा लिन्छु। कहिलेकाहीं सिनेमाको काम आउँछ। त्यहाँबाट आएको पैसा ब्याज तिर्न पुग्छ। यो नाटक पनि ऋणमा नै गरेको हो। यो अत्यन्तै महँगो नाटक भयो। थियटर खोलेदेखि मसँग पैसा छैन। साथीहरूसँग सापटी लिएर जेनतेन चलाइरहेको छु। फाइदा-बेफाइदा यस्तै त हो।
नाटकघरको सङ्ख्या बढेसँगै धेरै नाटक प्रदर्शन हुन थालेका छन्। यो दीर्घकालीन हुन सक्ला?
रङ्गमञ्चको भविष्य कहिले पनि खराब थिएन। नाटकघरमा दर्शक पुग्नुलाई मात्र रङ्गमञ्चको भविष्य राम्राे भएकाे मान्दिनँ। नाटकको काम भइरहनु नै रङ्गमञ्चको भविष्य हो। त्यो हिसाबले रङ्गमञ्च बाँचिरहेको छ। रङ्गमञ्च बाँच्नु र रङ्गमञ्चमा काम गरेर कलाकार बाँच्नु बेग्लै कुरा हो। रङ्गमञ्च कुनै न कुनै तरीकाले बाँचिरहेको छ, यो पछिसम्म बाँचिरहन्छ। तर, यहाँ भित्र काम गर्ने रङ्गकर्मी कसरी बाँच्ने भन्ने विषयमा अन्योल छ।
कला बचाउन राष्ट्रलाई मतलब छैन। कला र साहित्यलाई राज्यले आवश्यकताको विषय हो भन्ने ठानेको छैन। पार्टीको झण्डा नउठाई टिक्न गाह्रो छ।
कतिपयले तपाईंलाई अराजक र विद्रोही भन्दा रहेछन्। किन यस्तो भन्छन्?
अराजक र विद्रोही केलाई भन्ने! जब मैले मण्डला नाटकघर छाडें, तब मलाई अराजक र विद्रोही भन्न थाले। मैले किन मण्डला छाडें, यसको वास्तविकता मैले आजसम्म भनेको छैन। दश-बाह्र वर्ष काम गर्दा पैसा नपाएपछि मैले सोधेको थिएँ, कहिलेसम्म मानिसले पैसा नलिई भोको पेटले काम गर्न सक्छ? मण्डलाबाट निस्किंदा पैसा पाइनँ।
अहिले म कमजोर छु। बजारमा शक्तिशालीले कमजोरको गलत प्रचार गरिदिन्छन्। मसँग काम गरिरहेका भाइबहिनीलाई सोध्नुस्, उनीहरूले अराजक भन्दैनन्। मसँग सङ्गत गर्ने अन्य रङ्गकर्मीलाई सोध्नुस्, उनीहरूले पनि त्यस्तो भन्दैनन्। अराजक कसले र किन भनिरहेको छ, त्यो बुझ्नुपर्छ। एउटा शक्ति भएको ठाउँ छाडेर हिंडेकाले मेरो बदनाम गरिएको छ।
म कस्तो हुँ भनेर बुझ्न मैले गरेका काम हेर्दा हुन्छ। म कला मार्फत विद्रोह गर्छु। मेरो कला हेरेर भन्नुहुन्छ भने म अराजक र विद्रोही हुँ। मैले मिल्क टी नाटकमा महिलाले आफ्ना सन्तानलाई आफ्नै नाममा नागरिकता दिन पाउनुपर्छ भनेर देखाएको थिएँ। यो नाटक हेर्दा म पुरुषका लागि अराजक हो। सहीलाई सही र गलतलाई गलत भन्दा अराजक र विद्रोही सुनिन्छु भने म अराजक र विद्रोही नै हुँ।
नेपाली रङ्गमञ्चको अहिलेको काम गराइ कस्तो लागिरहेको छ?
सबैले राम्रो काम गरिरहेका छन्, त्यो देखेर सन्तुष्ट छु। काठमाडौंमा एउटा मात्र नाटक प्रदर्शन हुन्थ्यो। अहिले दर्शकले छनोट गर्न पाएका छन्। आफ्नो रुचि अनुसार नाटक हेर्न पाएका छन्। यो हिसाबले अत्यन्तै राम्रो भएको छ। एउटै मात्र थियटर भए धेरै नाटक उत्पादन हुँदैनथे।
अहिले काठमाडौंमा मात्र नभएर पूर्वमा झोराहट छ, विराटनगरमा गुरुकुल छ। बिर्तामोडमा नयाँ नाटकघर खुल्दै छ। पोखरामा अनुप सरले नयाँ नाटकघर खोल्दै हुनुहुन्छ। सबैले राम्रो गर्ने प्रयास गर्दै छन्। यो त खुशीको कुरा हो।
पछिल्लो समय प्रदर्शन भइरहेका धेरै नाटक अनुवाद वा रूपान्तरण छन्। मौलिक नाटक किन कम भए?
कलाकारको हिसाबले कसैले खेलायो भने म विदेशी नाटक खेल्छु, तर निर्देशकको हिसाबले विदेशी नाटक गर्दिनँ भनेको छु। कि त नेपाली कथा गर्छु कि त आफैं नाटक लेखेर काम गर्छु। मसँग तीन तला, किरिया, सिटामोल, चश्मा लगायत १०-११ वटा आफैंले लेखेका मौलिक नाटक छन्। बिस्तारै ती नाटकमा काम गर्छु। कसलाई कस्तो कथा भन्न मन पर्छ, उसले उस्तै कथा भन्छन्। बिस्तारै मौलिक कथा भन्ने प्रचलन बढ्दै गएको छ। हामी अहिले आशावादी हुन सक्छौं।
कतिपय कलाकार रङ्गमञ्चमा आएकोमा पछुतो मान्दा रहेछन्। तपाईंलाई कस्तो लाग्छ?
अहिलेसम्म मैले पछुतो मानेको छैन। त्यसरी सोचेको छैन। यदि त्यो सोचाइमा पुगें भने रङ्गमञ्च छाड्नु बाहेक अन्य विकल्प रहन्न। अहिले म थियटरमा रमाइरहेको छु। मलाई थियटर मात्रै गर्न मन लाग्दो रहेछ। यसमा एकोहोरो भएर लागिरहेको छु। अहिलेसम्म थियटर बाहेक अरू केही सोचेको छैन।
भोलि के हुन्छ भनेर सोच्न थाल्यो भने नेपालमा एउटा कलाकार कलाकारितामा लाग्नै सक्दैन। भविष्यबारे सोच्यो भने आज काम गर्न मन लाग्दैन। भविष्यबारे सोच्ने मेरो बानी छैन। त्यसैले भोलिका विषयमा सोच्दिनँ, आजको कामकै बारेमा सोच्छु।
अन्तिममा खतकै प्रसङ्ग जोडौं। अधिकांश दर्शकले नाटकको प्रशंसा गरिरहेका छन्। यसलाई कसरी लिइरहनुभएको छ?
हामी बहसका लागि नाटक गर्छौं। नाटक प्रदर्शन भएपछि त्यसले बहस सिर्जना गर्छ कि गर्दैन भन्ने मेरो रुचि हुन्छ। खतलाई धेरै मानिसले राम्रो भन्नुभएको छ, तर यसले सिर्जना गर्नुपर्ने तरङ्ग आएन। यो नाटकबाट मैले वैचारिक बहस हुन्छ, सञ्चार माध्यममा यसको विषय उठान हुन्छ भन्ने सोचेको थिएँ, तर त्यस्तो भएन।
यो नाटकले जुन प्रश्न गरेको छ, त्यो प्रश्नले कसैलाई हल्लाएन, पिरोलेन। यो नाटकले गरेको प्रश्न जहाँसम्म पुग्नुपर्ने थियो, त्यहाँसम्म पुगेन। रङ्गमञ्चले गरेको प्रश्न सम्बन्धित ठाउँसम्म पुर्याउने जिम्मा नाटकघरको मात्र नभएर दर्शक र सञ्चार माध्यमको पनि हो। त्यो प्रश्न ठाउँसम्म नपुग्दा दर्शकबाट राम्रो प्रतिक्रिया आए पनि त्यति धेरै खुशी हुन सकेको छैन।