चुनावको फैसला जनताको हातमा छ: अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको नतीजा कस्तो आउने भन्ने कुरा जनताको हातमा रहेको बताएका छन्।
पाँच दलीय गठबन्धनले आयोजना गर्न लागेको संयुक्त आमसभालाई सम्बोधन गर्न चितवन आएका अध्यक्ष दाहालले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको बताए। “भरतपुरको मात्रै होइन, कुनै पनि स्थानीय तहको चुनावको फैसला जनताको हातमा छ,” दाहालले भने।
भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबारे सोधिएको प्रश्नको जवाफमा दाहालले भने, “यसबारे चर्चा गर्नुभन्दा पनि गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ। उम्मेदवारी दिने स्वतन्त्रता कुनै पनि नेपालीलाई छ।”
भरतपुरको हाकिम चोकमा हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता चितवन पुगेका छन्।
कांग्रेसका वरिष्ठ नेता पौडेलले मेयरका उम्मेदवार जगन्नाथ पौडेललाई पनि भेटेका छन्। भेटका क्रममा उम्मेदवारीबाट पछि हट्न आग्रह गरेको जनाइएको छ।
वरिष्ठ नेता पौडेलसँग हार्दिकताका साथ छोटो भेटघाट भएको र आफ्नो अडान कायमै रहेको मेयरका उम्मेदवार पौडेलले बताए। आफू चुनावी अभियानकै क्रममा घरदैलोमा व्यस्त रहेको उनले बताए।
भरतपुरमा सत्तारूढ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल, नेकपा (एमाले) का तर्फबाट विजयी सुवेदी मेयरका उम्मेदवार छन्।