हेटौंडाको मेयरमा पुराना सहकर्मीको प्रतिस्पर्धा
बागमतीको सदरमुकाम हेटौंडा उपमहानगरको मेयरमा १८ उम्मेदवार भए पनि दुई जना पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
हेटौंडाको मेयरमा सत्तारूढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामा र विपक्षी गठबन्धनबाट नेकपा (एमाले) का अनन्त पौडेल उम्मेदवार छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह मेयरका उम्मेदवार बनेका छन्।
नेत्री लामालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। निवर्तमान उपमेयर लामा एकीकृत समाजवादीकी जिल्ला उपाध्यक्ष हुन्। यिनै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
आठ महीनाअघि दुवै एउटै पार्टी एमालेमा थिए। दुवैले लामो समय एउटै पार्टीमा रहेर काम गरेका थिए। एमाले विभाजन भएपछि लामाले एकीकृत समाजवादी रोजिन्।
२०७४ सालको निर्वाचनमा लामा एमालेबाट २३ हजार ४३७ मत पाएर उपमेयरमा निर्वाचित भएकी थिइन्। उनले त्यति वेला कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार बलराम लामालाई पराजित गरेकी थिइन्। माओवादीका उपमेयरका उम्मेदवार बलरामले १७ हजार ११ मत पाएका थिए।
गत निर्वाचनमा पौडेल पनि लामाका लागि मत माग्न हिंडेका थिए। यस पटक भने दुवै उम्मेदवार बनेको देख्दा मतदाता पनि रोचक प्रतिस्पर्धा हुने बताइरहेका छन्। एमालेमा पौडेलले जिल्ला कमिटीको नेतृत्व गर्दा लामा जनवर्गीय संगठनमा थिइन्।
२०६४ को संविधानसभाको निर्वाचनमा पौडेल उम्मेदवार बनेका थिए। उनलाई जिताउन लामा पनि खटिएकी थिइन्। त्यति वेला पौडेल पराजित भए।
फेरि २०७० सालको संविधानसभाको निर्वाचनमा पौडेल उम्मेदवार बने। लामा पनि निर्वाचनमा खटिइन्। यो पटक भने पौडेल संविधानसभा सदस्यमा निर्वाचित भए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामालाई उपमेयरमा जिताउन पौडेलले पनि विशेष भूमिका निर्वाह गरे। यो निर्वाचनमा भने पौडेल र लामा प्रतिस्पर्धामा छन्।
एमालेबाट मेयरका उम्मेदवार पौडेल लामासँग प्रतिस्पर्धा गर्न कुनै अप्ठ्यारो नभएको बताउँछन्। “हिजो हामीले नै खटेर उपमेयर विजयी गराएका हौं, अहिले प्रतिस्पर्धीका रूपमा पाएका छौं। परिस्थितिले सँगै लड्नुपर्ने अवस्था आयो, तैपनि केही अप्ठ्यारो छैन,” पौडेलले हिमालखबरसँग भने, “एकआपसमा प्रतिस्पर्धी भएका छौं। यो व्यक्तिगत हैन, पार्टीको कुरा भयो।”
एकीकृत समाजवादीबाट मेयर उम्मेदवार लामा पनि यो पार्टीगत लडाइँ भएकाले गाह्रो नलागेको बताउँछिन्। “अहिले एकै पदमा लड्नुपर्दा व्यक्तिगत रूपमा केही असहज लागेको छ, अनन्त दाइप्रति मेरो सम्मान त छँदै छ,” लामाले भनिन्, “तर, यो व्यक्तिगत लडाइँ होइन, पार्टीगत लडाइँ हो, स्वाभाविक रूपमा लिएकी छु।”
अहिले दुवै उम्मेदवार चुनावी प्रचारमा खटिइरहेका छन्। दुवैले चुनाव जित्ने दाबी गरेका छन्। “एमालेले विगतमा विकास निर्माण लगायत जनताको पक्षमा गरेका कामले जित्नेमा ढुक्क छु। अहिले मतान्तर बढाउन मात्रै फिल्डमा खटिइरहेका छौं,” पौडेलले भने।
गत पाँच वर्षमा आफूले गरेका काम हेटौंडाका बासिन्दालाई थाहा भएको मेयरकी उम्मेदवार लामाले बताइन्। “हेटौंडामा विगत पाँच वर्षको कार्यदक्षता र क्षमता नै विश्वासको आधार हो,” उनले भनिन्, “अर्को, एकीकृत समाजवादीलाई काम गरेर देखाउने अवसर जनताले दिनेछन्, प्रतिगमन विरुद्ध जनताको रोजाइको पार्टी हो।” यससँगै गठबन्धनमा आबद्ध सबै दल एकजुट भएकाले सहजै जित हासिल हुने उनको विश्वास छ।
यी दुई प्रतिस्पर्धीबीच तेस्रो उम्मेदवार पनि थपिएका छन्, राप्रपाका सिंह। ठूला राजनीतिक दलले केही काम गर्न नसकेको उनको आरोप छ। ठूला दल भ्रष्टाचार र परिवारवादमा लिप्त भएकाले जनताले यस पटक राप्रपालाई रोज्ने उनको भनाइ छ। “म भ्रष्टाचार र सुशासनको पक्षमा छु, उपमहानगरको बेथिति अन्त्य गर्न मेरो जित आवश्यक छ,” उनले भने।
हेटौंडाको मेयरमा १८ जना उम्मेदवार बनेका छन्। तीन प्रमुख प्रतिस्पर्धीसँगै उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, नेकपा (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेमकिपाबाट रमेशमान सिंह, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, लोकतान्त्रिक समाजवादी पार्टीबाट सञ्जीव खराल र नेकपा (माले) बाट केवश घर्ती उम्मेदवार छन्। यससँगै देवराज पौडेल, सञ्जय खरेल, प्रदीप ढकाल, कविराज पाठक, पुरुषोत्तम रुपाखेती, विश्वनाथ पाण्डे र लीलाकुमारी आचार्यले स्वतन्त्र उम्मेवारी दिएका छन्।
यस्तो छ विगत
बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि हेटौंडामा लगातार एमालेले जितेको छ। २०४९, २०५४ र २०७४ मा एमालेका उम्मेवार मेयरमा निर्वाचत भएका थिए।
स्थानीय तहको गत निर्वाचनमा भने एमाले र कांग्रेसका उम्मेदवारबीच ६१५ मतको मात्रै फरक थियो। एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत पाएका थिए भने कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए। त्यस्तै, तेस्रो स्थानमा रहेका राप्रपाका मधुकरप्रसाद पराजुलीले ६ हजार ८५७ मत पाएका थिए।
यो पाँच वर्षमा धेरै फेरबदल भएको छ। एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको छ। सत्तारूढ पाँच दलीय गठबन्धन बनेको छ भने एमालेलाई राप्रपा नेपालले समर्थन जनाएको छ।