सुनचाँदी विलासी वस्तु होइन
नेपालका प्रायः सबै समुदायका व्यक्ति सुनचाँदीको उपभोक्ता हुन्। यत्रो ठूलो जनसङ्ख्या उपभोक्ता भएको सुनचाँदी कसरी विलासिताको वस्तु हुन सक्छ? यो कच्चा पदार्थ हो।
नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर युवराज खतिवडासँग एक कार्यक्रममा भएको भेटमा नेपालमा सुनचाँदी व्यवसाय, यससँग सम्बन्धित चुनौती र अवसरबारे बताएको थिएँ। सुनचाँदी व्यवसाय नेपालको समृद्धिसँग जोडिएको बताएँ।
पछिल्लो समय नेपालीहरू उच्च आय भएका देश जस्तै, अमेरिका, अस्ट्रेलिया तथा यूरोपियन मुलुकहरूमा बसोबास गरिरहेका छन्। उनीहरू नेपालमा मनाइने विभिन्न चाडपर्व, कर्मसंस्कार उत्साहपूर्वक मनाउँछन्। उक्त अवसरमा सुनचाँदीका नेपाली गहना लगाउँछन्।
ती गहना नेपालबाट मगाउने गर्दछन्। उनीहरूको माग अनुसार गहना निर्यात गर्न सके हामीले विदेशी मुद्रा भित्र्याउन सकिने र रोजगारी सिर्जना हुन सक्ने कुरा खतिवडासँग राखेको थिएँ। गहना निर्यात तथा रोजगारी सिर्जनामा नेपाल सरकारको कुनै नीति तथा कार्यक्रम नभएको कुरा पनि औंल्याएँ।
खतिवडा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ मन्त्री हुनुभयो। उहाँको पालामा मेरो सुझाव सम्बोधन भएन। त्यसपछिका सरकारले पनि सुनचाँदी व्यवसायलाई मध्यनजर गरेर नीति बनाएको छैन। सुनचाँदीलाई कच्चा पदार्थ नभई विलासिताको वस्तुमा राखेको छ। यसको आयात र उपयोगलाई निरुत्साहित गर्दै आएको छ।
सरकारले सुनचाँदी व्यवसायलाई मध्यनजर गरेर नीति बनाएको छैन। सुनचाँदीलाई विलासिताको वस्तुमा राखेको छ। यसको आयात र उपयोगलाई निरुत्साहित गर्दै आएको छ।
कर्मचारीहरूले पनि सुनचाँदी व्यवसायबाट हुने फाइदालाई मिहिन ढङ्गबाट बुझ्ने कोशिश गरेका छैनन्। एक जना सुन व्यवसायीले भने– हाम्रा उच्चपदस्थ सरकारी कर्मचारीहरू आवश्यक परेका वेला गहना किन्न सुनचाँदी पसल जान्छन्, त्यहाँ के देख्छन् र भोग्छन्‚ कार्यकक्षमा फर्किएपछि सुनचाँदीलाई कच्चा पदार्थ नभई विलासिताको वस्तु मान्छन्। सोही अनुसार नीति बनाउँछन्। जसका कारण व्यवसायीले दुःख पाउँछन्।
सुनचाँदी हाम्रो संस्कृति तथा परम्परासँग मात्र जोडिएको छैन। यो सम्पत्तिको गतिलो माध्यम पनि हो। दुःख वा समस्या परेका वेला सुनका गहना तुरुन्तै नगदका रूपमा चलाउन सकिन्छ। अतः यो बाँच्नका लागि नभई नहुने वस्तु नभए पनि हाम्रो सामाजिक सुरक्षाको बलियो आधार हो।
नेपालका प्रायः सबै समुदायका व्यक्ति सुनचाँदीका उपभोक्ता हुन्। यत्रो ठूलो जनसङ्ख्या उपभोक्ता भएको सुनचाँदी कसरी विलासिताको वस्तु हुन सक्छ? सुनचाँदीको उत्पादन हाम्रो देशमा हुँदैन, आयात गर्नुपर्छ। आयातका लागि वैदेशिक मुद्रा खर्च गर्नुपर्छ। त्यसो भन्दैमा सुनचाँदीलाई विलासिताको वस्तु भन्न मिल्दैन। यो कच्चा पदार्थ हो।
नेपालमा परापूर्वकालदेखि विश्वकर्मा समुदाय सुनचाँदी व्यवसायमा संलग्न छ। नेवार समुदायबाट शाक्य र बज्राचार्यको परम्परागत पेशा पनि यही हो। तराईमा बर्मा र सोनार पनि यही पेशामा छन्। पछिल्लो समय मारवाडी, महर्जन, तामाङ, क्षेत्री, बाहुन लगायत अन्य समुदाय पनि यस पेशामा जोडिएका छन्। देशभर लगभग पाँच लाख व्यक्ति सुनचाँदी व्यवसायमा निर्भर छन्। यति धेरै आश्रित रहेको व्यवसायलाई सहज बनाउन सरकारले किन कन्जुस्याइँ गरेको होला!
छिमेकी मुलुक भारतमा धेरै नेपाली रोजगारीका लागि जान्छन्। उनीहरूले त्यहाँबाट जति रकम नेपाल भित्र्याउँछन्, त्योभन्दा कैयौं गुणा बढी रकम भारत जान्छ। नेपालबाट भारत जाने रकममध्ये सुनचाँदी व्यवसायबाट पनि उल्लेख्य छ। मेरो सम्पर्कमा रहेका केही सुनचाँदी व्यवसायीका अनुसार‚ शहरी क्षेत्रमा हाम्रो परम्परागत गहनाभन्दा भारतको बङ्गाली शैलीका आधुनिक गहना बढी खपत हुन्छ। ती गहना बनाउने कालिगड सबै बङ्गाली छन्। काठमाडौं उपत्यकामा मात्रै २५ हजारभन्दा बढी बङ्गाली कालिगड रहेको अनुमान छ। नेपालका अन्य शहरहरूमा समेत गर्दा भारतीय कालिगडहरू करीब ५० हजार रहेको अनुमान छ।
सुनचाँदी व्यवसायमा ठूलो व्यवसायीको हालीमुहाली छ। जसका कारण मध्यम र निम्न स्तरका व्यवसायी यस पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको छ।
एक जना कालिगडले प्रति महीना न्यूनतम ६० हजार र अधिकतम दुई लाख रुपैयाँसम्म कमाउँछ। महीनामा सरदर ७० हजार रुपैयाँ मात्र कमाए पनि एक व्यक्तिले वर्षमा आठ लाख रुपैयाँभन्दा बढी कमाउँछ। यसरी हेर्दा ५० हजार जनाले वर्षमा ४० अर्ब रुपैयाँ कमाउँछन्। अर्को महत्त्वपूर्ण कुरा, ती कालिगडहरूलाई बस्ने व्यवस्था रोजगारदाताले नै दिन्छ। उनीहरूका लागि खानेकुरा भारतबाट नै आउँछ। यसको मतलब उनीहरूले नेपालमा खासै खर्च गर्दैनन्। कमाएको प्रायः सबै भारत लान्छन्।
सुनचाँदी व्यवसायमा ठूलो व्यवसायीको हालीमुहाली छ। जसका कारण मध्यम र निम्न स्तरका व्यवसायी यस पेशाबाट पलायन हुने अवस्था सिर्जना भएको छ। मेरै परिवारको कुरा गर्ने हो भने मेरो पुस्ताका केही दाइहरूले यो पेशा अँगालेका थिए। मभन्दा पछिको पुस्ताका एक जनाले पनि यसलाई निरन्तरता दिएका छैनन्। उनीहरूसँग सीप छैन। यो व्यवसायसँग सम्बन्धित सीप सिकाउने कुनै प्रशिक्षण केन्द्र वा अध्ययन संस्था पनि छैन। देशभित्रै सीप सिकाउने ठाउँ भए विदेशबाट कालिगड ल्याउनुपर्ने बाध्यता हुने थिएन। त्यत्रो ठूलो रकम विदेश जाँदैनथ्यो। यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ।