धवलशमशेरको गढमा जुध्दै कांग्रेस र एमाले
राप्रपा महामन्त्री धवलशमशेर राणाले गत निर्वाचनमा फराकिलो अन्तरले जितेको नेपालगञ्ज उपमहानगरमा यस पटक भने कांग्रेस र एमाले पनि कडा प्रतिस्पर्धामा छन्।
स्थानीय तहको चुनाव नजिकिंदै गर्दा पश्चिम तराईको प्रमुख शहर नेपालगञ्जमा राजनीतिक दलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री राणाले मैदान खाली गरेसँगै अन्य दल पनि चुनावी माहोल आफ्नो पक्षमा पार्ने कसरतमा जुटेका छन्।
सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट, नेकपा (एमाले) बाट पशुपति दयाल मिश्र र राप्रपबाट नन्दलाल वैश्य मेयरका उम्मेदवार छन्। तीनै जना नेपालगञ्जका लागि परिचित अनुहार हुन्।
विष्ट कांग्रेसका उपनगर कार्यसमितिका सभापति हुन् भने मिश्र एमालेका केन्द्रीय सदस्य तथा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी हुन्। उनी केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए।
त्यस्तै, वैश्य नेकपा (माओवादी केन्द्र) परित्याग गरेर राप्रपामा गएका हुन्। उनी माओवादीबाट मेयरको उम्मेदवारका दाबेदार थिए। गठबन्धनको तालमेलमा कांग्रेसको भागमा परेपछि उम्मेदवार बन्न राप्रपामा प्रवेश गरेका हुन। उनी नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
२०७४ को चुनावमा नेपालगञ्ज उपमहानगरमा राप्रपाले जितेको थियो। अहिले राप्रपाको महामन्त्री रहेका राणाले त्यति वेला १२ हजार ५१५ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सुरेश कनौडियाले आठ हजार ७३० मत पाएका थिए। त्यस्तै, माओवादीका दामोदर आचार्यले सात हजार १९८ मत पाएका थिए भने एमालेका सम्सुद्दीन सिद्दीकीले ६ हजार ९६५ मत पाएका थिए।
अहिले भने नेपालगञ्जको चुनावी अवस्था फेरिएको छ। राप्रपा आफ्नो विरासत जोगाउनतिर लागेको छ भने सत्तारूढ गठबन्धन र एमाले पनि जोडतोडका साथ चुनावी मैदानमा खटिएका छन्।
गत निर्वाचनको मतपरिणामका आधारमा गठबन्धनका उम्मेदवार बलिया देखिएका छन्। कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको मत जोड्दा राप्रपाको भन्दा आठ हजार बढी हुन्छ। तर, गठबन्धनबाटै विद्रोह गरेका वैश्य राप्रपाबाट उम्मेदवार बनेकाले गणित तलमाथि हुने देखिन्छ। अर्को, उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा राम्रो काम गरेकाले अधिकांश उद्योगी, व्यवसायीमाझ उनको छवि राम्रो छ।
एमाले उम्मेदवार मिश्र पनि कडा प्रतिस्पर्धामा देखिन्छन्। गठबन्धनभित्रको असन्तुष्टि छ भने नवप्रवेशीलाई मेयरको टिकट दिएपछि राप्रपामा पनि विवाद छ। गठबन्धन र राप्रपाभित्रको यही विवादबाट मत चोर्ने दाउमा एमालका मिश्र रहेको स्थानीय अगुवा शम्भु थारू बताउँछन्। “नेपालगञ्जमा एमाले त्यति बलियो नभए पनि वैश्य परिचत व्यवसायी भएकाले गठबन्धन र राप्रपालाई चुनौती दिन सक्छन्,” उनको अनुमान छ।
अर्कातिर, तीनै प्रतिस्पर्धी पुरानालाई सुरक्षित राख्दै नयाँ मतदातामा पनि ध्यान दिइरहेका छन्। गत पाँच वर्षमा १९ हजार ३९७ मतदाता थपिएका छन्। गत निर्वाचनमा ६२ हजार ३९७ मतदाता थिए भने यस पटक ८१ हजार ७९४ पुगेका छन्।
प्रमुख प्रतिस्पर्धी तीन दलका सहित १७ उम्मेदवार मेयरको प्रतिस्पर्धामा छन्। जसमा नेकपा माओवादी समाजवादीबाट अनिता वैश्य, नेकपा (माले) बाट मेवाला हवाई, लोकतान्त्रिक समाजवादी पार्टीबाट महमूद आलम सिद्दीकी, राप्रपा नेपालबाट अभयकुमार बस्नेत, नेश्नलिस्ट पिपुल्स पार्टीबाट भुवनकृष्ण श्रेष्ठ, जनता प्रगतिशील पार्टीबाट रमेशचन्द्र कुम्हार, नेपाली जनता दलबाट शेरबहादुर खाँ, जनमत पार्टीबाट प्रह्लाद अहिर, नेपाल मजदूर किसान पार्टीबाट डिल्लीबहादुर पुन उम्मेदवार छन्।
उनीहरूसँगै मोहम्मद फैज, मोहम्मद अजुव हल्वाई, कमलेशकुमार पाठक, विकासबहादुर सिंह र दिनेश थापा स्वतन्त्र उम्मेदवार बनेका छन्।