प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ।
सरकारले वैशाख १९ गते धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो। त्यसका विरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका थिए।
उनको रिटमाथि आज न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको हो। दुवै पक्षको प्रारम्भिक सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। यस रिटमा थप सुनुवाइका लागि बिहीबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त महानिरीक्षक सिंहलाई विपक्षी बनाएका छन्। उनले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरेका छन्।