आसिफको उत्कृष्ट प्रदर्शनमा नेपालको सहज जित
आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले जिम्बाबे विरुद्धको खेलमा सहज जित हासिल गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको तेस्रो टी-२० खेलमा जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि आसिफ शेखले ५४ बलमा ८७ रन बनाए। जसमा १३ चौका र एक छक्का समावेश छन्।
त्यस्तै, नेपालका लागि कुशल भुर्तेलले ३४ र वसिर अहमदले १० रन बनाए। जिम्बाबेका लागि ल्युक जोङ र ब्रान्डन मवुताले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले सात विकेटको क्षतिमा १३६ रन बनाएको थियो। जिम्बाबेका लागि रोय कैयाले ४९ रन बनाएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले दुई, सोमपाल कामी र वसिर अहमदले एक-एक विकेट लिएका थिए।
तीन खेलको शृङ्खलामा नेपाल र जिम्बाबेले एक-एक खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो।