शान्त शहरमा माइकको कोलाहल
चुनावी प्रचारका क्रममा दलहरूले आचारसंहिता विपरीत ठूल्ठूलो आवाजमा माइक बजाउँदा शान्त शहर पोखरा कोलाहलमय बनेको छ।
स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा पोखरा महानगरपालिकामा राजनीतिक दलले चुनावी प्रचार तीव्र पारेका छन्। तर, उनीहरूले निर्वाचन आचारसंहिता विपरीत ठूल्ठूलो आवाजमा प्रचारप्रसार गरिरहेका छन्।
महानगरभित्र घरदैलो तथा कोणसभामा ठूला राजनीतिक दलले चर्को हर्न बजाउने, माइकिङ गर्ने, ठूलो टेपरेकर्ड घन्काउने गरिरहेका छन्। यसले एकातिर ध्वनि प्रदूषण बढाएको छ भने अर्कातिर चुनावी आचारसंहिता पनि उल्लंघन भइरहेको छ।
बिहानैदेखिको होहल्लाले टाउको दुख्ने गरेको पोखराका व्यवसायी दीपेश कोइरालाले गुनासो गरे। “चुनाव प्रचारका क्रममा चर्काे नारा र चुनावी गीतले टाउको दुखिसक्यो। व्यवसाय बन्द गरेर गाउँ गएर बसौं जस्तो भएको छ,” कोइरालाले भने, “यसमाथि मेरो पसलअघि पार्टी कार्यालय छ। बिहानै पसल खोलेदेखि बेलुका पसल बन्द गरेर घर फर्किंदासम्म ठूलो आवाज घन्किन्छ।”
उनी जस्तै धेरै पेशा, व्यवसायमा संलग्नलाई चर्काे आवाजले आजित बनाएको छ। स्थानीय राज दाहालले चर्को आवाजमा बजाइने नाराले आजित परेको सुनाए। उनी भन्छन्, “जुन चोकमा पुगे पनि दलबल सहितको कार्यक्रम भइरहेको हुन्छ। हैरान भइसकें।”
दलहरूले आचारसंहिता उल्लंघन गरी चुनावी प्रचारप्रसार गर्दा सुन्दर र शान्त पोखरा बनाउने उनीहरूकै घोषणा विपरीत हुन गएको छ। सबै दलहरूले चुनावी घोषणापत्रमा पोखरालाई शान्त शहर बनाउने योजना अघि सारेका छन्।
कानै खाने आवाजमा घरदैलोमा जानुभन्दा कार्ययोजना सुनाएर जनताको मन जित्नु राम्रो हुने नागरिक समाज कास्कीकी संयोजक इन्द्रकमल मानन्धर बताउँछिन्। “यो वेला धेरैको परीक्षा चलेको छ। यसले विद्यार्थीको पढाइमा असर परिरहेको छ,” पोखराको कन्या क्याम्पसकी प्राध्यापक मानन्धर भन्छिन्, “राजनीति समाजसेवा भएकाले विकृति फैलाउने यस्ता कुरा अन्त्य गर्नुपर्छ।”
ठूला राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राप्रपाले नै आचारसंहिता उल्लंघन गरिरहेका छन्। गाडीमा ठूला–ठूला प्रचारका सामग्री राख्ने, भित्तामा पर्चा टाँस्ने, माइकिङ र टेपरेकर्डर बजाउने, सार्वजनिक ठाउँमा पर्चा, पम्लेट राख्ने, पार्टीको झण्डा सहितको टिसर्ट, टोपी लगाउने कार्य आचारसंहिता विपरीत हुन्। कतिपय कर्मचारीले त चुनावका वेला सरकारी गाडी प्रयोग गरी र्याली र माइकिङ समेत गरेका छन्।
चुनावी आचारसंहितामा कपडामा बनाइएको तीन–तीन फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न बाहेक कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ।
ऐन मिच्नेलाई कारबाही
माइकमा चर्काे आवाज बजाउनेलाई मुख्य निर्वाचन निर्वाचन कार्यालयले कारबाहीका गरेको छ। दलहरूले प्रयोग गरेका माइक नियन्त्रणमा लिएको हो। अनुगमन अधिकृत नील पनेरुको नेतृत्वको टोलीले आचारसंहिता विपरीत चर्को आवाजमा बजाइएका १५ माइक नियन्त्रणमा लिएको छ। कार्यालयले कांग्रेसका ६ वटा, राप्रपाका चार, एमालेका तीन र जसपाका दुई वटा माइक नियन्त्रणमा लिएको उनले बताए।
यो कारबाहीलाई साङ्केतिक रूपमा बुझ्न उनले अनुरोध गरे। आइन्दा यस्तो नगर्ने शर्तमा माइक फिर्ता दिइने तर यही प्रवृत्ति दोहोर्याए कारबाही गरिने उनले बताए। “अहिले साङ्केतिक कारबाही गरेका हौं। अब आचारसंहिता पालना नगरे कडा कारबाहीको दायरामा ल्याउन बाध्य हुन्छौं,” पनेरूले भने।
निर्वाचन कार्यालयमा आचारसंहिता उल्लंघनका विषयमा चार–पाँच वटा उजुरी परेका छन्। मतदातालाई प्रभावित पार्न एउटा दलले उपहार दिएको उजुरी आएको छ। अर्को, निर्वाचन अधिकृतलाई धम्क्याएको उजुरी परेको छ।
अधिकृतलाई धम्क्याएको आरोपमा अटेरी अभियानका अशोक खड्कालाई दुई दिनअघि नियन्त्रणमा लिइएको थियो। त्यस्तै, दलको टिसर्ट प्रयोग भएको, माइक प्रयोग भएको जस्ता उजुरी आएको उनले बताए। “आचारसंहिता उल्लंघन भएको भनेर निवेदन कार्यालयलाई दिनुपर्यो। यसले हामीलाई थप सहयोग पुर्याउँछ,” उनले भने।
निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरे उम्मेदवारी नै खारेज गर्न सकिने निर्वाचन कार्यालयका गण्डकी प्रमुख हुमनाथ पराजुलीले बताए। “सामान्य खालको उल्लंघनमा सचेत गराउँछौं। गल्ती नदोहोर्याउन भन्छौं। गम्भीर उल्लंघन भए आयोगले नै स्पष्टीकरण सोध्छ, उम्मेदवारी रद्द समेत हुन्छ,” पराजुलीले भने।