शहरवासीलाई परेवाको पिरलो
दुःख दिन थालेपछि शहरवासीका लागि परेवा टाउको दुखाइ भएको छ। परेवाको दुःखबाट बच्न उनीहरूले अनेक उपाय अपनाउन थालेका छन्।
भक्तपुरको गठ्ठाघरका प्रवीण मिश्रले नयाँ घर बनाउँदा इन्जिनीयरको डिजाइन अनुसार सौन्दर्यका लागि छानाको पर्खालमा प्वाल बनाए। त्यो प्वाल परेवाको गुँड बन्यो। परेवाका बथानले बिस्ट्याएर दिक्क पारेपछि उनले प्वाल टालिदिए।
ललितपुरको ढोलाहिटी हाइटमा घर बनाएका शिवबहादुर नेपालीले परेवाले दुःख दिएपछि झ्यालको बिटमा काठको पिर्कामा उत्तानो पारी किला ठोकेर परेवा बस्न नमिल्ने बनाए।
काठमाडौंको थापाथलीकी देवी गुरुङले आफ्नो घरको बार्दलीमा परेवाले गुँड बनाई फोहोर गरेर आजित पारेपछि परेवा आउनै नसक्ने गरी दुई तहको तारजाली ठोकिन् ।
यी दृष्टान्त शहरबजारमा परेवाले दुःख दिन थालेपछि अपनाइएका उपाय हुन्। विश्वमा अनेकौं प्राणी सङ्कटापन्न अवस्थामा पुगी संरक्षण गर्नुपर्ने अवस्था रहेका वेला परेवा शहरवासीका लागि टाउको दुःखाइ भएको छ।
प्राणीशास्त्रका प्राध्यापक करनबहादुर शाह भन्छन्‚ “केही प्राणी–प्रजाति दुर्लभ र सङ्कटापन्न अवस्थामा पुग्दा संरक्षण र प्रवर्द्धन गनुपर्ने जिम्मेवारी र चुनौती छ भने परेवाले शहरबजारमा समस्या पारेको छ।”
लन्डन जस्ता ठूला शहरमा पनि परेवाका समस्या भएको शाह बताउँछन्। उनी भन्छन्, “यसको सजिलै निकास पाउन गाह्रो छ।”
काठमाडौंमा परेवा जुन सङ्ख्यामा छ‚ त्यो समस्या होइन। तर‚ सङ्ख्या बढे भोलिका दिनमा समस्या हुन सक्छ। “भोलि परेवाको सङ्ख्या बढ्दै गयो र परेवाबाट पन्छीजन्य रोग सल्कियो भने कुखुरापालन, हाँसपालन, कालिजपालनलाई असर पर्न सक्छ,” शाह भन्छन्, “त्यस्तै परेवाका कारण हुने एलर्जिक रोगबाट हुने समस्याबारे पनि सोच्न जरुरी छ।”
कोरोना महामारीले भोलिका दिनमा कसरी सतर्क रहनुपर्छ भन्ने चेतावनी दिएको छ। परेवा उड्ने प्रजाति भएकाले टाढा टाढाबाट पनि रोग ल्याउन सक्छ। परेवाको बिस्टाबाट रोग सर्न सक्छ।
विदेशमा चरालाई व्यक्तिले आफूखुशी चारो दिन पाउँदैनन्। तोकिएको चारो सम्बन्धित निकायबाट किन्नुपर्छ। यहाँ भने आफूखुशी चारो दिइन्छ। खाना र बस्नको दुःख नहुँदा काठमाडौंमा परेवाको सङ्ख्या बढेको पन्छीविद्हरूको भनाइ छ। यस्तै‚ काठमाडौंमा बाजको सङ्ख्या कम भएकाले परेवाको सङ्ख्या व्यवस्थापन हुन नसकेको पन्छीविद्को आकलन छ।
“काठमाडौंमा परेवालाई माया गरिन्छ। चारो दिने, पानी दिने गरिन्छ। आरामसँग प्रशस्त खानेकुरा पाउने र राम्रो प्रजननशक्तिले सङ्ख्या बढ्ने भयो,” पन्छीविद् तुलसी सुवेदी भन्छन्, “काठमाडौंमा परेवा शिकार गर्ने शिकारी प्रजातिका शाहीबाजहरू छैनन्। त्यसो हुँदा पनि सङ्ख्या व्यवस्थापन हुन नसकेको हो।”
जनस्वास्थ्यका दृष्टिले परेवाबाट अहिले नै खतरा नदेखिएको विज्ञ बताउँछन्। “बर्ड फ्लु सार्ने धेरै तत्त्वमध्ये एउटा परेवा हो,” इपिडिमियोलोजिस्ट डा. सुरेन्द्र कार्कीले भने, “तर परेवाको कारणले जनस्वास्थ्यमै असर पर्ने गरी समस्या परेको देखिंदैन।”
परेवाको व्यवस्थापन नगरिएकाले समस्या भएको तर्क छ पन्छीविद् हेमबहादुर कटुवालको। “अन्यत्र त परेवाबाट मुक्त हुन घरमा बस्न नदिने, बाज, उल्लु लगायत चराको प्रतिरूप बनाएर राख्ने गरिएको पाइन्छ,” कटुवाल भन्छन्, “यस बाहेक अन्य उपाय खास अपनाएको पाइँदैन।”
हाम्रो सम्पदा क्षेत्रका मन्दिरहरू परेवाका लागि राम्रो वासस्थान भएका छन्। नेपालमा प्रत्येक परिवारको छुट्टै घर हुनुपर्ने सांस्कृतिक–सामाजिक कारणले पनि परेवाले वासस्थान पाएको छ।
“भित्र जेसुकै भए पनि बाहिरबाट भने घर राम्रो देखाउन बुट्टा हाल्ने, सिंगार्ने हाम्रो चलन छ। त्यसले गर्दा पनि परेवाले बस्ने प्वाल पायो नि,” अन्तर्राष्ट्रिय संस्था बर्ड इन्टरनेशनलका लागि मलेशियामा कार्यरत पन्छीविद् हुम गुरुङ बताउँछन्।
सिंगापुरमा कागले फाहोर गरेकाले तिनलाई मारिएको थियो। नेपालमा भने सांस्कृतिक हिसाबले पनि प्राणीलाई नमारिने हुँदा सङ्ख्या व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ।
गाउँमा छैन दुःख
कालीकोटको शुभकालिका गाउँपालिका-५ रोकायाबाडाका हस्तबहादुर रोकायाले परेवा पाल्न थालेको झण्डै एक दशक भयो। ९६ घरधुरी रहेको रोकायाबाडामा उनको घरमा मात्रै परेवा पालिएको छ।
“कहिलेकाहीं तल्लोमाथ्लो घरका दाजुभाइले तैंले परेवा पालेर बिस्कुन खाइदियो भनेर जिस्क्याउनुहुन्छ,” रोकाया भन्छन्, “अहिले पच्चीस, छब्बीस वटा परेवा छन्। कहिलेकाहीं चारो दिनुपर्छ नत्र परेवाका कारण खासै दुःख छैन।”
मृत्युसंस्कारको १३ दिनको काममा भगवान्का नाउँमा उडाउन परेवा माग्न आउने गरेको उनले बताए। त्यस्तै, सुत्केरीले तागतका लागि परेवाको मासु खाने चलन रोकायाबाडामा छ। “परेवाको मासुले तागत लाग्ने विश्वास छ,” रोकाया भन्छन्, “एक जोडीको ५०० रुपैयाँमा बेच्ने गरेका छौं।”
शहरमा जस्तो परेवाको दुःख गाउँमा नभएको सुनसरी, झुम्काका ललित थारू बताउँछन्। “गाउँमा परेवा अतिरिक्त आयको स्रोत भएको छ,” उनले सुनाए, “मन्दिरमा चढाउनका लागि वा खानका लागि नियमितजसो परेवा लिन आउने हुन्छन्। थारू समुदाय बाहेक पनि यहाँतिर परेवाको मासु खाने चलनले पनि सङ्ख्या स्थिर देखिन्छ।”
विश्वमा परेवाका ८०० भन्दा बढी प्रजाति छन्। परेवालाई सौन्दर्य पन्छी (फेन्सी बर्ड)‚ उडान पन्छी (रेसर बर्ड)‚ हाई फ्लायर र लो फ्लायरका रूपमा पनि वर्गीकरण गरिएको छ। परेवा र मलेवा पनि फरक हुन्। घर वरपर हुने प्रजाति मलेवा हो। राता आँखा हुने यी परेवा प्रजाति धेरै टाढा र उचाइमा उड्दैन।