विराटनगरमा कांग्रेसलाई गुटको, एमालेलाई फुटको डर
कांग्रेस र एमाले हाराहारीमा रहेको विराटनगर महानगरमा दुवै पार्टीलाई विपक्षीभन्दा पनि आन्तरिक कलहकै डर छ।
स्थानीय चुनावमा मोरङको विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा (एमाले) बाट सागर थापा मेयरका उम्मेदवार छन्। मेयरका लागि विभिन्न दलबाट एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि प्रतिस्पर्धा कोइराला र थापाबीच नै हुने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्। कोइराला कांग्रेस मोरङका उपसभापति हुन् भने थापा एमाले महानगर कमिटीका अध्यक्ष हुन्।
गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का अमरेन्द्र यादव उपमेयरका उम्मेदवार बनेका छन्। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। त्यस्तै, एमालेबाट शिल्पा कार्की उपमेयरकी उम्मेदवार छिन्।
२०५४ सालको चुनावमा एमालेका रमेशचन्द्र पौडेल मेयरमा निर्वाचित भएका थिए। त्यसको २० वर्षपछि २०७४ मा कांग्रेसका भीम पराजुली मेयर बनेका थिए। एमाले फेरि सत्तामा आउने दाउमा छ भने कांग्रेस पुरानो दबदबा कायमै राख्ने धाउन्नेमा छ।
पाँच वर्ष नेतृत्व लिएको कांग्रेस गठबन्धनमा रहेका अन्य दलको सहयोगमा फेरि जित्नेमा ढुक्क छ। तर, गठबन्धन र कांग्रेसभित्रकै आन्तरिक विवाद चुनौती बनेको छ। गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ता सन्तुष्ट छैनन्।
अर्कातिर, कांग्रेसभित्रै गुटको प्रभाव छ। विराटनगरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष दुई खेमामा विभाजित छन्। २०७४ सालको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई पराजित गराएको आरोपमा कांग्रेसका थुप्रै कार्यकर्तामा कारबाहीमा परेका थिए। त्यसको असर अहिले पनि यथावत् छ।
त्यस्तै, अर्को पक्षका उम्मेदवार र चित्त नबुझेका दलका उम्मेदवारलाई मत दिन नसकिने कांग्रेसका स्थानीय नेता बताउँछन्। अहिलेका उम्मेदवार कोइराला डा. शेखर पक्षका हुन्। यसअघि पनि उनकै पक्षका पराजुली मेयरमा निर्वाचित भएका थिए। तर, पछि देउवा पक्षमा लागेर केन्द्रीय सदस्य बनेका थिए।
त्यस्तै, गठबन्धनबाट जसपा अध्यक्ष यादवका छोरा अमरेन्द्र उपमेयरको उम्मेदवार छन्। आफ्नो छोरालाई उम्मेदवार बनाएको भन्दै जसपाभित्रै पनि असन्तुष्टि देखिन्छ। यसको विरोध गर्दै पार्टी छोडेका जसपा मोरङका पूर्व अध्यक्ष उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गत निर्वाचनमा एमालेका उम्मेदवार दोस्रो स्थानमा थिए। पार्टी विभाजनले एमालेलाई थप असर परेको छ। एमालेबाट एकीकृत समाजवादीमा गएका स्थानीय नेता तथा कार्यकर्ताको मत तान्न स्थानीय नेतृत्व लागेको छ। गठबन्धनसँगै पार्टी विभाजनको असर एमालेका लागि मुख्य चुनौती बनेको छ।
त्यस्तै, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रह्लाद साह मेयरका उम्मेदवार छन्। साह राजा ज्ञानेन्द्रको शासनकालमा मेयर मनोनीत भएका थिए। यी दुवै उम्मेदवारले पनि कोइराला र थापाको हारजितमा फरक पर्ने आकलन गरिएको छ।
गत निर्वाचनको गणित
प्रदेश १ को राजधानी विराटनगरमा गत निर्वाचनमा कांग्रेसका उम्मेदवार भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए। पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए भने दोस्रोमा रहेका एमालेका विनोद ढकालले १७ हजार ३२१ र तेस्रोमा रहेका तत्कालीन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए।
उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र दोस्रोमा रहेकी माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। त्यस्तै, तेस्रोमा रहेकी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत पाएकी थिइन्।
२०७४ को निर्वाचनमा एमाले र विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमबीच तालमेल भएको थियो। एमालेबाट मेयर ढकाल र फोरमबाट उपमेयरमा चौधरी उम्मेदवार बनेकी थिइन्।
त्यस्तै, माओवादी र संघीय समाजवादी फोरमबीच पनि तालमेल भएको थियो। फोरमबाट मेयरमा यादव र माओवादीबाट उपमेयरमा न्यौपाने उम्मेदवार बनेकी थिइन्।
अहिले विराटनगरमा एक लाख ३३ हजार १४२ मतदाता छन्। गत निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए।