महानिरीक्षकबारे मन्त्रिपरिषद् निर्णय- सबैभन्दा उपयुक्त धीरजप्रताप सिंह
नेपाल प्रहरीको महानिरीक्षकको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयमा सबैभन्दा उपयुक्त धीरजप्रताप सिंह रहेको जनाइएको छ।
सरकारले आइतबार अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम २०७९/०१/१९ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये सबैभन्दा उपयुक्त देखिएका श्री धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने।’
उनीसँगै एआईजी विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक प्रतिस्पर्धामा थिए। तेस्रो वरीयताका सिंहलाई सरकारले महानिरीक्षक नियुक्त गरेको छ। उनले मंगलबार दर्ज्यानी चिह्न पनि लिइसकेका छन्।
सरकारको यो निर्णय विरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरेका छन्। उनको रिटमाथि बुधबार सुनुवाइ हुने भएको छ।