प्रदेशका सञ्चार माध्यम सम्बन्धी पुस्तक सार्वजनिक
सातै प्रदेशका सञ्चार माध्यम सम्बन्धी पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ।
सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशन गरेको पुस्तकमा संघ र प्रदेशमा रहेका मिडियाको अवस्थाबारे विश्लेषण गरिएको छ। नेपालमा आठ हजार ९५३ मिडिया रहेको पुस्तकमा उल्लेख छ।
जसमध्ये चार हजार ७८९ पत्रिका, आठ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र तीन हजार १२० अनलाइन सञ्चार माध्यम छन्। नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारको सङ्ख्या १३ हजार ७७ रहेको पुस्तकमा उल्लेख गरिएको छ।
सूचना तथा प्रसारण विभागमा २०७८ फागुनको पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन सञ्चार माध्यमलाई आधार बनाई पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्याङ्क विश्लेषण गरिएको छ।
बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन्। बागमती प्रदेशमा पाँच हजार ५१ मिडिया छन् भने पत्रकारको सङ्ख्या पाँच हजार ७७६ छ।
सोमबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्याङ्कले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने जनाउँदै यसले मिडियाको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुग्ने बताए।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्याङ्क विना समस्या पहिचान गर्न कठिन हुने उल्लेख गर्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुग्ने बताए।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्याङ्क र वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिइन्। पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।