आईएएमएफको सञ्चालक समितिमा वसन्त थापा
इन्टरनेशनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सञ्चालक समितिमा नेपालबाट वसन्त थापा चयन भएका छन्।
इटालीको ट्रेन्टोमा आइतबार सम्पन्न आईएएमएफको साधारणसभाले थापालाई सञ्चालक समितिमा चयन गरेको हो। उनी काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का निर्देशक हुन्।
आईएएमएफको अध्यक्षमा जाबी बराइअजरा चयन भएका छन्। उनी बिबाओ मेन्दी फिल्म फेस्टिभलका निर्देशक हुन्। त्यस्तै, उपाध्यक्षमा रोबर्टो डी मार्टिन चयन भएका छन्। उनी ट्रेन्टो फिल्म फेस्टिभलका पूर्व अध्यक्ष हुन्।
सञ्चालक समितिमा स्लोभेनियाको माउन्टेन फिल्म फेस्टिभलका डाइरेक्टर सिल्भो कारो र तुरिन माउन्टेन म्यूजियमका निर्देशक मार्को रिबेट्टी छानिएका छन्।
उनीहरू तीन वर्षका लागि सञ्चालक समितिमा चयन भएका हुन्। सन् १९५२ मा स्थापना गरिएको ट्रेन्टो चलचित्र महोत्सव पर्वतीय चलचित्र महोत्सवकै सबैभन्दा पुरानो महोत्सव हो। आईएएमएफमा पाँच महादेशबाट २० देशका २८ जना सदस्य छन्।
यससँगै आईएएमएफको अर्को साधारणसभा काठमाडौंमा हुने भएको छ। डिसेम्बरमा हुने किम्फको अवसर पारेर साधारणसभा गर्ने निर्णय गरिएको हो।