प्रहरी महानिरीक्षक विरुद्धको रिटमा बुधबार सुनुवाइ हुने
प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्धको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
मन्त्रिपरिषद् बैठकले सोमबार नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई मंगलबार बिहान दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
सरकारले वरीयता क्रम मिचेर महानिरीक्षक नियुक्त गरेको भन्दै अर्का एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका थिए। उनका तर्फबाट सुनीता रावतले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सर्वोच्चले उनको रिट दर्ता गरेको छ। एआईजी पोखरेलका तर्फबाट दर्ता भएको ०७८–डब्लूओ–१२८६ नम्बरको रिटमा सर्वोच्चले वैशाख २१ गते सुनुवाइ तोकेको छ।