पर्यटक आगमन बढ्दो, अप्रिलमा ५८ हजार भित्रिए
कोभिड-१९ महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र फेरि चलायमान हुन थालेको छ। सन् २०२२ को शुरूआती चार महीनामा विदेशी पर्यटकको आगमन लगातार बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार, पछिल्लो चार महीनामा एक लाख ३७ हजार ९५ विदेशी पर्यटक भित्रिएका छन्। जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार, ७६६, मार्चमा ४२ हजार ६ र अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।
सन् २०२१ मा यो अवधिमा २२ हजार ४५० जना पर्यटक नेपाल भित्रिएका थिए। गत वर्षभरि एक लाख नौ हजार ३३३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
यससँगै नेपालबाट विदेशिने क्रम पनि यथावत् रहेको छ। गत चार महीनामा ५२ हजार ६६३ जना विदेशिएको बोर्डले जनाएको छ।