चुनावी प्रचार गर्न उम्मेदवारलाई शहरमा दुई गाडी, गाउँमा दुई घोडा
स्थानीय तह चुनावको प्रचारमा उम्मेदवारले गर्ने सवारी साधनको प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेको छ।
आयोगले सोमबार सूचना प्रकाशित गरी चुनावी प्रचारमा प्रयोग हुने सवारी साधनका लागि अनुमति लिन र आचारसंहिता पालना गर्न सचेत गराएको छ। निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति लिएर मात्रै प्रचारमा सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था छ।
त्यसका लागि कडाइका साथ पालना गराउन आयोगले सूचना जारी गरेको हो। आचारसंहिताभित्र रहेर सवारी साधनको प्रयोगका लागि अनुमति लिन र तोकिएको सङ्ख्यामा मात्रै सवारी साधन प्रयोग गर्नका लागि अनुमति दिन आयोगले सचेत गराएको हो।
जस अनुसार, महानगरपालिका र उपमहानगरपालिकाको मेयर वा उपमेयरका उम्मेदवारले बढीमा दुई वटा मात्रै दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन मात्रै प्रयोग गर्न पाउनेछन्। नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले एउटा मात्रै हलुका सवारी साधन प्रयोग गर्न पाउनेछन्।
महानगर र उपमहानगरका वडाध्यक्ष तथा वडा सदस्यले एउटा मात्रै दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी साधन चलाउने अनुमति पाउनेछन् भने नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यले एउटा मात्रै दुईपाङ्ग्रे सवारी साधन प्रचारमा प्रयोग गर्न पाउनेछन्।
विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन नचल्ने गाउँपालिका वा नगरपालिकामा घोडाको प्रयोग गर्न पाइनेछ। त्यस्ता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका मेयर तथा उपमेयरले दुई वटा घोडा प्रयोग गर्न पाउनेछन्। वडाध्यक्ष तथा वडा सदस्यले भने एउटा मात्रै घोडा प्रयोग गर्न पाउने व्यवस्था छ।