‘मतदाताको मन जित्ने गरी काम गरेकाले फेरि जित्नेमा विश्वस्त छु’
‘अघिल्लो कार्यकालमा सडक, भवन, सिंचाइ, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेको छु।’
दाङको घोराही उपमहानगरपालिकाका पूर्व मेयर नरुलाल चौधरी पुनः चुनावी मैदानमा उत्रिएका छन्। उनलाई नेकपा (एमाले) ले मेयरको उम्मेदवार बनाएको हो। चौधरीसँग हिमालखबरका लागि सन्तोष दहितले गरेको कुराकानीः
एक कार्यकाल मेयर भइसक्नुभएको छ, पहिले र अहिलेको अजेन्डामा के फरक छ?
मैले यसअघि नै एक कार्यकाल घोराही उपमहानगरपालिकाको नेतृत्व सम्हालिसकेको छु। मैले अमूल्य मत दिएर विजयी गराउने मतदाताहरूकै सल्लाह, सुझाव र माग अनुसार काम गरें। जसका कारण भौतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा उल्लेख्य काम गर्न सफल भयौं।
पार्टीले पनि पुनः जिम्मेवारी दिएको छ। अब जनताको समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने योजना छ। अघिल्लो कार्यकालमा सडक, भवन, सिंचाइ, यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेका छौं। यी क्षेत्रलाई थप गुणस्तरीय बनाउँदै नागरिकको आयआर्जनसँग जोडिने कार्यक्रम ल्याउने योजना छ। जसका लागि कृषि, पशुपालनलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै व्यावसायिक बनाउन मेरो ध्यान जाने छ।
यस्तै‚ मानव विकास सूचकाङ्कमा घोराही देशकै शीर्ष १० स्थानमा पर्ने गरी काम गर्ने‚ एक घर एक रोजगार सिर्जना गर्ने योजना रहेको छ। आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौतिक क्षेत्रमा नूमना काम गर्नेछौं।
पुनः जित्ने आधार के के छन्?
मैले पुनः जित्ने आधार प्रशस्त छन्। एक कार्यकाल कुनै विवादमा नआई नगरबासीको हितमा कुशलतापूर्वक निर्वाह गरेको छु। घोराहीबासीले उक्त कुरा अनुभूति गर्नुभएको छ।
गाउँसम्म कालोपत्रे सडक पुर्याएका छौं। खेतीपातीलाई ध्यान दिंदै तीन दर्जन जलाशय निर्माण गरेका छौं। सबै वडाबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छौं। सामुदायिक विद्यालयमा सुधार ल्याएका छौं। जसका कारण विद्यार्थी भरिभराउ छन्।
यस्तै, ज्येष्ठ नागरिकको घरमै उपचार, मोतिया बिन्दुका बिरामीको निःशुल्क उपचार, सुत्केरीलाई निःशुल्क रगत, सिकलसेलका बिरामीको निःशुल्क उपचार गरेका छौं। रङ्गशाला निर्माण जारी छ। १९ वटै वडामा खेलकूद मैदान बनेका छन्। फोहोर व्यवस्थापन गरेका छौं।
जनताको मन जित्ने गरी काम गरेकाले फेरि मलाई नै जिताउनुहुनेमा विश्वस्त छु। अर्को मुख्य कुरा, म घोराहीको रैनाथे हुँ। विद्यार्थी राजनीतिदेखि यस क्षेत्रमा परिचित छु। यहाँका सबै समुदायसँग राम्रो सम्बन्ध छ। यहाँका नेता तथा कार्यकताको मप्रति सहानुभूति छ। त्यसैले म पुनः मेयरको उम्मेदवार बनेको छु। मेरो उम्मेदवारी परेको थाहा पाएपछि मतदाताहरू उत्साहित बन्नुभएको छ।
घोराहीमा के कस्ता समस्या देख्नुभएको छ?
यहाँ खासै समस्या छैनन्। केन्द्र सरकारको मातहतमा रहेका सडक मात्र लथालिङ्ग छ। भूगोल हाम्रोमा पर्ने तर क्षेत्राधिकार हाम्रोमा नपर्दा सडकको अवस्था त्यस्तो भएको हो। केन्द्र सरकार मातहतका कार्यालय र ठेकेदारले विभिन्न बहाना बनाएर काम नगर्दा घोराहीको लमही, घोराही-तुलसीपुर‚ घोराही-मुर्कुटी, घोराही-होलेरी सडकमा नागरिकले सास्ती पाएका छन्।
चुनावी अभियान कसरी चलाइरहनुभएको छ?
निर्वाचनको मिति नजिकिएकाले विविध ढङ्गले चुनावी अभियान चलाइरहेका छौं। व्यक्तिगत भेटघाट‚ घरदैलो तथा चुनावी सभा गरेर भोट माग्ने काम भइरहेको छ। मतदाताको सुझाव ग्रहण गर्दै र आफ्नो योजना सुनाउने काम भइरहेको छ।
तपाईंको पार्टीभित्र विवाद छैन?
हाम्रो पार्टीमा कुनै किसिमको विवाद छैन। त्यसैले हाम्रो ध्यान र सोच भनेकै नगरको विकास कसरी गर्ने भन्नेमा मात्र केन्द्रित छ।