यस्ता छन् ७६ जिल्लाका नमूना मतपत्र
स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मतपत्र ढुवानी अन्तिम चरणमा पुगेको जनाएको छ भने नमूना मतपत्र पनि सार्वजनिक गरेको छ।
आयोगका अनुसार, सोमबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको छ। बाँकी १७ जिल्लामा पनि यसै साताभित्र मतपत्र ढुवानी गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
अहिलेसम्म ९१ लाख ११ हजार मतपत्र जिल्लामा पुगेका छन्। सिन्धुली, रामेछाप र दोलखामा सोमबार मतपत्र ढुवानी गरिंदै छ।
त्यसपछि बाँकी प्रदेश १ को मोरङ, मधेश प्रदेशका आठ जिल्ला, बागमतीका रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरमा यसै साता मतपत्र पुर्याइने आयोगले जनाएको छ।
सबैभन्दा धेरै चिह्न भएको मतपत्र काठमाडौंको र सबैभन्दा कम चिह्न भएको मतपत्र डोल्पाको रहेको छ। काठमाडौंमा ५६ लहर र डोल्पामा १६ लहर रहेको आयोगले जनाएको छ।
यस पटक सबै जिल्लामा फरक फरक मतपत्र रहेका छन्। आयोगले भक्तपुर बाहेक ७६ जिल्लाका नमूना मतपत्र सार्वजनिक गरेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै भक्तपुरको मतपत्र तयार गरिएकाले नमूना मतपत्र सार्वजनिक नगरिएको आयोगले जनाएको छ।
७६ जिल्लाका नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।