चौधरी ग्रूपका संस्थापक लूनकरणदासको जन्मजयन्तीमा विशेष कार्यक्रम
चौधरी ग्रूपका संस्थापक लूनकरणदास चौधरीको जन्मजयन्तीमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौंको थापाथलीस्थित बीएलसी होल्डिङ्स परिसरमा ‘जन्म-शताब्दी विशेष समारोह’ आयोजना गरिएको हो। बीएलसी होल्डिङ्स प्रालि, वसन्त चौधरी फाउन्डेशन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
लूनकरणदास चौधरीको १००औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म-शताब्दी विशेष’ पुस्तिका विमोचन गरिएको छ। चौधरीका परिवाजनले संयुक्त रूपमा पुस्तिका विमोचन गरेका हुन्।
कार्यक्रममा चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडिओ पनि प्रस्तुत गरिएको थियो।
यससँगै उनका तीन जना सहयोगीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा राम ढुंगाना, आलोक रजक र सुनील गुरुङ छन्। उनीहरूलाई सम्मानपत्रसँगै नगद पनि प्रदान गरिएको छ।
१९७९ वैशाख ९ गते काठमाडौंको मखनमा जन्मिएका लूनकरणदासले काठमाडौंमा कपडाको व्यापारसँगै सुनसरीको दुहबीस्थित रत्न स्टील कम्पनीबाट औद्योगिक यात्राको शुरूआत गरेका थिए। त्यससँगै दुहबीमै पशुपति बिस्कुट उद्योगको स्थापना गरेका थिए। उनले शुरूआत गरेका तिनै औद्योगिक संस्थाहरू अहिले चौधरी ग्रूपका रूपमा स्थापित भएका छन्।
कार्यक्रममा स्वर्गीय चौधरीलाई नजिकबाट चिन्ने साथीभाइ तथा परिवारका सदस्यले उनको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए।