‘घोराहीलाई नेपालको नमूना उपमहानगरपालिका बनाउँछौं’
‘गठबन्धनमा आबद्ध दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हो। यस्तै‚ हाम्रा अजेन्डा र अघि सारिएका उम्मेदवार अर्को आधार हो।’
दाङको घोराही उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा छैनन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) अलग्गिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने चुनावी तालमेल गरेका छन्। उनीहरूले माओवादीका हेमराज शर्मालाई मेयरको उम्मेदवार बनाएका छन्। उनै शर्मासँग हिमालखबरका लागि सन्तोष दहितले गरेको कुराकानीः
गठबन्धनभित्रै विवाद छ भन्ने छ‚ यसले असर गर्दैन?
गठबन्धनमा रहेका दलमा कार्यकर्ता पङ्क्ति विशाल छ। सक्षम र योग्य नेता तथा कार्यकर्ता धेरै हुनुहुन्छ। यस्तो अवस्थामा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भनेर बहस हुनु स्वाभाविकै हो। तर, छलफलपछि मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। अहिले कसैको पनि असन्तुष्टि छैन। पार्टी निकट साथीहरूले मनोनयन गर्नुभएको पनि फिर्ता लिइरहनुभएको छ।
अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एकताबद्ध भएर लाग्नुभएको छ। अब पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो। वादविवाद गरेर समय खेर फाल्ने समय होइन। केही भए चुनावपछि समीक्षा गर्नेछौं। केही गल्ती भए त्यसबाट शिक्षा लिने छौं।
तपाईंले जित्ने के कस्ता आधार छन्?
म ३० वर्षदेखि घोराहीमा बस्दै आएको छु। ‘जनयुद्ध’ को समयमा पनि घोराहीका विभिन्न गाउँका जनतासँग एकाकार भएर काम गरें। २०६२-६३ सालको ऐतिहासिक जनआन्दोलनमा पनि घोराहीमै बसेर कांग्रेस सहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलनमा भूमिका निर्वाह गरें। अहिले गठबन्धनबाट मेयरको उम्मेदवार छु।
गठबन्धनमा आबद्ध दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हुन्। यसअघिको निर्वाचनमा हामीले प्राप्त गरेको मतलाई मात्रै आधार मान्ने हो भन्ने हामी १० हजारभन्दा बढी मतान्तरले विजयी हुन्छौं। यस बाहेक हामीले उठाएका अजेन्डा र अघि सारेका उम्मेदवार नै हाम्रो अर्को आधार हो।
हाम्रो विपक्षमा यसअघि घोराहीको नेतृत्व गरिसकेका मेयरलाई पुनः उम्मेदवार बनाइएको छ। उहाँ यसअघि नै असफल भइसक्नुभएको छ। त्यसैले मतदाताहरू हामीलाई विजयी बनाउन आतुर हुनुहुन्छ।
तपाईंले देखेका घोराहीका समस्या के के हुन्?
हामी लामो समयदेखि घोराहीलाई नजिकबाट हेरिरहेका छौं। यहाँको मुख्य समस्या भनेकै हामीले उठाएका अजेन्डाहरू हुन्। सडक, स्वास्थ्य, शिक्षा, बिजुली, खानेपानी, कृषि र रोजगारी नै घोराहीका मुख्य समस्या हुन्। हामी विजयी भएपछि ती समस्या समाधान गर्दै ‘समुन्नत घोराही र खुशी घोराही’ को सपना पूरा गर्नेछौं।
चुनावी अजेन्डा चाहिं के के छन्?
हामीले उपमहानगरपालिकाको विकास र समृद्धिलाई प्राथमिकतामा राखेका छौं। गुणस्तरीय तथा सीपमूलक शिक्षा, स्वास्थ्य हाम्रो प्राथमिकतामा छन्। यस्तै, रोजगारी, सडक, खानेपानी, पर्यटन क्षेत्रको विकास पनि हाम्रा अजेन्डा हुन्। स्थानीय कला, संस्कृति र भाषा संरक्षणका लागि विशेष योजना अघि सारेका छौं।
सार्वजनिक सेवामा नागरिकको सहज पहुँच, ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक वर्ग समुदायका लागि विशेष अधिकार र राहतको व्यवस्था गर्न स्थानीय सरकारको जिम्मेवारी लिने हाम्रो प्रतिबद्धता छ।
अति विपन्न, मजदूर, किसान, वृद्धवृद्धा, एकल महिलालाई उपचार, विद्युत् र खानेपानी निःशुल्क व्यवस्था गरिनेछ। त्यस्तै, कृषकलाई कृषक परिचयपत्र, मल-बीउको सहज व्यवस्थापन र पेन्सनको व्यवस्था गरिनेछ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पताललाई सुविधा सम्पन्न बनाउने र नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ।
तपाईं मेयरमा निर्वाचित भए कस्तो घोराही बनाउनु हुन्छ?
हामी घोराहीबासीको भाग्य र भविष्य बदल्न उम्मेदवार बनेका हौं। हामीसँग आगामी पाँच वर्षभित्र घोराहीलाई कस्तो बनाउने भन्ने प्रष्ट खाका छ। हामी दिनरात घोराहीबासीको सेवा र विकासमा खटिनेछौं। हामी घोराहीलाई नेपालको नमूना उपमहानगरपालिका बनाउनेछौं।
अधुरो रिङरोड पूरा गरी प्रत्येक वडाका टोल टोललाई आधुनिक यातायात प्रणालीसँग जोड्नेछौं। बेरोजगारीलाई हटाउँछौं। समग्रमा भन्दा घोराहीको मुहार फेर्छौं।
चुनावी अभियान कसरी चलाइरहनुभएको छ?
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनले घोराही उपहानगरपालिकाको मेयर पदमा मलाई र उपमेयर पदमा भूपबहादुर डाँगी सहित वडासम्म साझा उम्मेदवार अघि सारेको छ। त्यसैले चुनावी अभियान पनि गठबन्धनले नै तय गरेको छ। हामी त्यही अनुसार सहभागी भइरहेका छौं।
वैशाख १५ गतेदेखि चुनावी प्रचारप्रसार शुरू गरेका छौं। हरेक मतदाता र शुभेच्छुकहरूको घरदैलोमा पुग्न नसके पनि टोल र गाउँमा आयोजना गरिएका कार्यक्रममा पुगेका छौं। उम्मेदवारहरूले साझा योजना सहितको प्रतिबद्धतापत्र प्रस्तुत गरी मतदाताहरूको सुझाव लिंदै अघि बढिरहेका छौं। यसै आधारमा हामीलाई मतदान गर्नुहुनेछ भन्ने आशा छ।