निर्वाचन अधिकृतलाई धम्क्याएको आरोपमा युवक पक्राउ
निर्वाचन अधिकृतलाई धम्क्याएको आरोपमा पोखराका एक युवक पक्राउ परेका छन्।
अटेरी अभियानमा संलग्न अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उच्छृङ्खल गतिविधि गरेको निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।
डीएसपी तिवारीका अनुसार, खड्काले शनिबार मुख्य निर्वाचन कार्यालयमा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निवेदन परेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको हो। “खड्काले निर्वाचन कसूर २०७३ को दफा २० को १ (घ) अनुसार निर्वाचन आचारसंहिता तोडेको भन्दै निवेदन परेको छ,” डीएसपी तिवारीले भने।
यस दफामा निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनमा कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्न नुहने, धाक, धम्की वा डर त्रास देखाउने नहुने उल्लेख छ।
अटेरी अभियानमा संलग्न व्यक्तिहरूले शनिबार बिहान लौरो चुनाव चिह्न खोसिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर प्रदर्शन गरेका थिए। तर, पछि निर्वाचन कार्यालयले अटेरी उम्मेदवारीलाई लौरो चुनाव चिह्न दिएको थियो।
खड्काले मुख्य निर्वाचन अधिकृतलाई धम्क्याएको प्रहरीले जनाएको छ। लौरो चिह्न नपाए मुख्य निर्वाचन अधिकृतलाई लौराले हान्नुपर्ने अभिव्यक्ति दिएका थिए। जुन निर्वाचन आचारसंहिता विपरीत हो।