कांग्रेसले उठाएन साढे चार हजार पदमा उम्मेदवार
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले चार हजार ५९३ पदमा उम्मेदवार उठाएको छैन।
सत्तारूढ पाँच दलीय गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार केही स्थानमा उम्मेदवारी नदिएको र केही स्थानमा फिर्ता लिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। उनका अनुसार, ७५३ स्थानीय तहका ३५ हजार २२१ पदमध्ये ३० हजार ६२८ पदमा उम्मेदवार उठाएको छ।
त्यस्तै, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयरमा २६२ उम्मेदवार उठाएको छ। गठबन्धनका लागि मेयरका २८ पद छोडेको छ।
कांग्रेसले उपमेयरमा १९४ उम्मेदवार उठाएको छ। गठबन्धनका लागि ९६ उपमेयर पद छोडेको छ।
गाउँपालिका अध्यक्षमा पनि सबै पदमा उम्मेदवार उठाएको छैन। अध्यक्षमा ३७२ उम्मेदवार उठाएको छ भने गठबन्धनका लागि ९१ पद छोडेको छ।
उपाध्यक्षमा कांग्रेसका ३४० उम्मेदवार उठेका छन्। बाँकी १०१ ठाउँमा गठबन्धनका लागि छोडेको छ।
कांग्रेस प्रवक्ता महतका अनुसार, वडाध्यक्षमा ६ हजार ४३ उम्मेदवार उठेका छन्। यसै गरी महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१ र सदस्यमा ११ हजार ७८८ उम्मेदवार उठेका छन्।