नेपाल जिम्बाबेसँग ६ विकेटले पराजित
टी-२० शृङ्खलाको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ६ विकेटले पराजित भएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाबेले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो। जिम्बाबेका लागि तदिवानसे मरुमनीले ५६, टोनी मुन्योङ्गाले ५० र इनोसन्ट कैलाले ४७ रन बनाए।
नेपालका लागि वसीर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि मोहम्मद आदिल आलमले ४७, कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ र दीपेन्द्रसिंह ऐरीले २८ रन बनाएका थिए।
जिम्बाबेका लागि ब्राड इभन्स, ल्युक जोङवे, ब्रान्डन मभुता र जोन मसुराले एक-एक विकेट लिएका थिए।
नेपाल र जिम्बाबेबीचको दोस्रो खेल भोलि दिउँसो १ बजे हुनेछ।