घोराही उपमहानगरमा कसले मार्ला बाजी?
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकाको मेयरमा १४ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्।
लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये घोराही क्षेत्रफल र मतदाता हिसाबले ठूलो उपमहानगरपालिका हो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा यस उपमहानगरमा मेयर पदमा १४ जनाको उम्मेदवारी छ।
घोराहीमा सत्तारूढ गठबन्धनमा फुट आएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन भएको छ। नेकपा (एकीकृत समाजवादी) एक्लै चुनावमा होमिएको छ।
गठबन्धनले माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मालाई मेयरको उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले केन्द्रीय सदस्य रामप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ।
त्यसै गरी नेकपा (एमाले) ले नरुलाल चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ। घोराहीका निवर्तमान मेयर चौधरी एमाले पोलिटब्यूरो सदस्य तथा दाङका इन्चार्ज हुन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरिता देवकोटालाई उम्मेदवार बनाएको छ। उनी केही समयअघि कांग्रेसबाट राप्रपा प्रवेश गरेकी थिइन्।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले शान्ता चौधरी र मंगोल नेशनल अर्गनाइजेशनले कल्पना चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ।
यीमध्ये गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तुलनात्मक रूपले गठबन्धनका उम्मेदवार शर्मा बलियो मानिए पनि एमालेका उम्मेदवारलाई पनि कम आँक्न भने मिल्दैन।
गठबन्धनका उम्मेदवार शर्माको पुरानो गाउँ देउखुरी हो। उनी शान्ति प्रक्रियापछि घोराही-१५ मा बसाइँ सरेका हुन्। कांग्रेसको सबै भोट आए शर्माले जित्ने अनुमान छ। तर, माओवादीलाई मेयर दिएको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ट छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत माओवादीलाई समर्थन गर्न नसकिने भन्दै विरोध र आक्रोश पोखिरहेका छन्। केहीले पार्टी परित्याग समेत गरिरहेका छन्।
एमालेका उम्मेदवार चौधरीलाई गठबन्धनभित्रको असन्तुष्टिले फाइदा पुग्ने स्थानयीबासी बताउँछन्। घोराही–१ सुर्केडाँगीका चौधरी साविक रामपुर गाविस अध्यक्ष र घोराही उपमहानगरको मेयर भइसकेका छन्। घोराहीमा थारू समुदायको बाक्लो बसोबास छ। त्यसमा अधिकांश मत चौधरीले तान्ने अनुमान गरिएको छ।
यस्तो छ अघिल्लो चुनावको मत
२०७४ को स्थानीय निर्वाचनमा घोराहीको मेयर र उपमेयर सहित १० वटा वडाध्यक्ष एमालेले जितेको थियो। मेयरमा नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए। डाँगी अहिले गठबन्धनबाट उपमेयरको उम्मेदवार छन्।
त्यस वेला माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेर तेस्रो भएका थिए। गौतम चुनावको मुखैमा पार्टी छोडेर स्वतन्त्र बसेका छन्। गठबन्धनको विरोधमा पार्टी छोडेका उनी निकटहरू बताउँछन्।
अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले पाएको जम्मा मत २९ हजार ५६६ थियो। त्यो एमालेले पाएको मतभन्दा सात हजार ५३६ मत बढी हो। तर, गठबन्धनका उम्मेदवार शर्माले यसअघि माओवादीले ल्याएको सबै मत नपाउने गौतम निकट एक नेता बताउँछन्।
माओवादीलाई मेयर दिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेस नेत्री सरिता देवकोटा पनि राप्रपबाट मेयरमा उठेकाले पनि गठबन्धनको भोट काटिने आकलन छ।
पछिल्लो पाँच वर्षमा घोराहीमा ३४ हजार ५०० नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ७८ हजार ४२७ मतदाता थिए। यस पटक एक लाख १२ हजार ९२७ जना मतदाता छन्।