बाघको आक्रमणमा वृद्धको मृत्यु
बाघको आक्रमणमा परेर चितवनको खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको छ।
कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न गएका दाहाललाई आइतबार बिहान ८ बजे बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको स्थानबाट १ किलोमिटर टाढा जङ्गलभित्र दाहालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बाघले आक्रमणले गरेपछि प्रहरीचौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको हात्ती सहितको टोली खटिएको थियो। घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग नभएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।