स्थानीय चुनावका लागि ४९ जिल्लामा पुगे मतपत्र
स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र पठाइएको निर्वाचन आयोगले जनाएको छ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ को मोरङ बाहेक सबै जिल्लामा मतपत्र पुगिसकेको छ। त्यस्तै, गण्डकीको पोखरा महानगरपालिका बाहेक सबै स्थान र बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको आयोगले जनाएको छ।
त्यस्तै, वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए।
काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्ने क्रम जारी रहेको आयोगले जनाएको छ। मनाङ र मुस्ताङमा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ।
निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरू गरेको थियो। अहिलेसम्म ६ वटा महानगर र भक्तपुर बाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भएको आयोगले जनाएको छ।