पोखरामा पनि मोनो र मेट्रो रेल चलाउने एमालेको घोषणा
नेकपा (एमाले) ले पोखरा महानगरपालिकामा पनि मोनो र मेट्रो रेल सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
एमालेका मेयरका कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरूले सार्वजनिक गरेको घोषणापत्रमा मोनो र मेट्रो रेल सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणापत्रमा भनिएको छ, ‘पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनो रेल तथा मेट्रो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ।’
यससँगै एमालेले पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ। एमालेले भनेको छ, ‘केरुङ, काठमाडौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोराला-भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गरिनेछ।’
यसअघि काठमाडौंमा मोनो र मेट्रो रेल चलाउने घोषणा गरेको थियो।